शुक्लाफाँटा नगरपालिकाको भू उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी नक्सा स्वीकृत


राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा भू उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी नक्सा स्वीकृत गरिएको छ । नगरपालिकाको वडा गत छलफल संगै नापी विभागबाट आएका भू उपयोग विज्ञहरुको सुझावका आधारमा भू उपयोग कार्यान्वयन समितिले बर्गीकरणको नक्सा पारित गरेको हो । नक्सा संगै भू उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड तथा आधारहरु पनि पारित गरिएका छन । एक साता भित्रै नापी विभागबाट कित्ता नापीको सुपर इम्पोज डाटा प्राप्त भएमा जग्गाको कित्तकाटको कार्य अगाडी बढने नगरपालिकाको जग्गा नापी शाखाका प्रमुख हेमराज अबस्थीले बताए ।
‘नगरपालिकाको भू उपयोग परिषदले भू उपयोग बर्गीकरणको सुचना सर्वसाधारणको जानकारीका लागि राजपत्रमा प्रकासित गर्छ’ उनले भने, ‘सुचना प्रकासित भए संगै जग्गाको किताकाटको कार्य शुरु हुन्छ ।’ उनका अनुसार नदीको डिल देखि दुवै तर्फ जोखिम लगायत अन्य संवेदनशिल क्षेत्रको जग्गालाई नापी विभागबाट हस्तान्तरण भएको बर्गीकृत भू उपयोग बमोजिम बर्गीकृत गरिएको छ । औद्योगीक, व्यवसायीक, आवाशीय, सरकारी, सार्वजनिक, सामुदायिक प्रयोजनका लागि प्रयोजन हुने जग्गालाई नक्सामा देखाईएको छ ।

हाल उपयोगमा रहेका नदीनाला, ताल तलैया, पोखरी, खनिज तथा उत्खनन् क्षेत्र, मठ मन्दिर,भूइया, वन पैदावार क्षेत्र,हरियाली क्षेत्र, एतिहासिक धरोहर, सांस्कृतिक तथा पुरातत्व महत्वका क्षेत्र नक्सा तथा मापदण्डमा समेटिएको शाखा प्रमुख अबस्थीले बताए ।नगर क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकारका उद्योग मन्त्रालयबाट स्वीकृत औद्योगीक ग्राम सञ्चालन सम्बन्धी कार्यविधि २०७५ बमोजिम कम्तिमा एक वटा औद्योगीक ग्राम क्षेत्र निर्धारण गरी बर्गीकरणको कार्य गरिएको छ । चलन चल्तीमा उपभोगमा रहेका पसल, बैंक तथा वित्तिय संस्था, होटेल, रेष्टुरा, हाटवजार लाग्ने स्थलहरु, चमेनागृह, व्यवसायीक प्रयोजनका लागि प्रयोग हुने स्टोरेज क्षेत्र, राजस्व संकलन गर्ने सरकारी कार्यालयले चर्चेको खाली जग्गा, नीजि क्षेत्रबाट सञ्चालित अन्य कार्यालय, अस्पताल, नीजि विद्यालय, पोलिक्लिनिक, नीजि रेडियो, तथा टेलिभिजन लाई व्यवसायीक क्षेत्रका रुपमा बर्गीकरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए ।

‘नगरपालिका सडक मापदण्ड तथा अधिकार क्षेत्र कार्यविधि २०७६ अनुसार सडकको लम्बाई, चौडाई निर्धारण गरिएको छ’ उनले भने, ‘नगर स्तरीय ११ वटा सडक र चक्रपथ खण्डको दाँया बाँया ८० र अन्य १० मिटर भन्दा कम चौडाई भएका वडा स्तरीय सडकको दायाँ बाँया ५० मिटर सम्म जोडिएका कित्ताहरुको क्षेत्रलाई व्यवसायीक क्षेत्रका रुपमा विभाजन गरिएको छ, प्रपेन्डिकुलर सय मिटर सम्मको क्षेत्रलाई आवासीय क्षेत्रका रुपमा बर्गीकरण गरिएको छ ।’ नगर क्षेत्र भित्रका साना बजार तथा चोक, पूर्व पश्चिम राजमार्ग र बेलौरी कलुवापुर राजमार्गको अधिकार क्षेत्रबाट एक सय मिटर दुरीमा रहेको दायाँ बाँया जग्गालाई आवासीय क्षेत्रका रुपमा बर्गीकरण गरिएको उनको भनाई रहेको छ । ‘छिट्टै जग्गा बर्गीकरण सम्बन्धीको मापदण्ड राजपत्र पत्रमा प्रकासन गरी कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयमा पठाउछौं’ उनले भने, ‘त्यस पछि जग्गाको कारोवार संगै कित्ताकाटको कार्य अगाडी बढछ ।’ यस अघि भीमदत्त नगरपालिकाले जग्गाको वर्गीकरण सम्बन्धीको कार्य पुरा गरी कित्ताकाटको कार्य सञ्चालन गरेको छ । भीमद पछि शुक्लाफाँटा नगरपालिका जग्गाको बर्गीकरण गर्ने दोश्रो नगरपालिका हुने भएको छ । जिल्लाका अन्य पालिकाले जग्गा बर्गीकरणको कार्य अगाडी बढाएका छन ।


ताजा समाचार

spot_img