कञ्चनपुर : भीमदत्त न.पा ५ वनगांउ स्थित श्री प्रकाश मेमोरियल पब्लिक स्कुलले भी.न.पा.३ स्थित श्री विष्णु मन्दिर संरक्षण समिति(विष्णु धाम)लाई खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ । माघ महात्म्यको अवसरमा विद्यार्थी तथा विद्यालय प्रशासनको सहयोगमा चावल, तेल, तरकारी, चटाइ, बाल्टी तथा केही नगद सहयोग गरिएको हो । वि. व्य. स. अध्यक्ष निलम आलेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सल्लाहकार अमित प्रसाद भट्टले गरेका थिए । भी न पा ९ तुमडानी स्थित वाटिका इन्टरनेश्नल स्कुलका प्रिन्सिपल ललित धामीले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विष्णुधामका संरक्षक महन्त रामदाशजी महाराजले रामचरित्र परिचर्चासंगै आशिवर्चन समेत प्रदान गर्नु भयो ।

विद्यालयका विद्यार्थी तथा शिक्षक स्टाफले मन्दिरको दर्शन पश्चात भएको सामग्री वितरण समारोहमा यस क्षेत्रको धार्मिक पर्यटन उन्नयनमा योगदान दिएको कदरस्वरुप मन्दिर संरक्षण समितिलाई कदर पत्र प्रदान गरिएको थियो । सोही अवसरमा विद्यालयमा करीब २ वर्ष शिक्षण गरी पोल्याण्ड जान लाग्नु भएका विद्यालय संयोजक मुकेश प्रसाद पाण्डेको सुखद यात्रा र उत्तरोत्तर प्रगति सम्बन्धमा संरक्षक रामदाशजी महाराजले शुभेच्छा प्रकट गर्नु भएको थियो । शिशु विद्या मन्दिरका माध्यमिक तह विज्ञान शिक्षक अंकित जोशी समेतको उपस्थितीमा कार्यक्रम भएको थियो ।

सो संगै विद्यालयका शिक्षक तथा विद्यार्थीले मन्दिर परिसरमा वनभोज समेत गरेका छन । उक्त वनभोज कार्यक्रमको प्रसादी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख(एस.पी)श्याम सिंह चौधरी तथा जनज्योति क्याम्पसका संस्थापक तथा महाकाली साहित्य संगमका केन्द्रिय सदस्य हजारी सिंह पुजारा(हौंसिया) समेतले ग्रहण गर्नु भयो । सहयोग तथा वनभोज कार्यक्रमबाट विद्यार्थी तथा शिक्षक स्टाफ हर्षित हुनुका साथै यस प्रकारको कार्यक्रम विद्यालयले यस पुर्व समेत विभिन्न स्थानमा गरिसकेको वि.व्य.स.अध्यक्ष निलम आलेले बताउनु भएको छ ।







