प्रधानमन्त्री प्रचण्डलाई ‘अभूतपूर्व ऐतिहासिक’ समर्थन

कञ्चनपुर: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभामा अभूतपूर्व ऐतिहासिक विश्वास पाएका छन । मंगलबार प्रतिनिधी सभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई २६८ सांसदले विश्वासको मत प्रदान गरेका हुन । २७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस टेकबहादुर गुरूङ निलम्बित छन । बैठकमा दुई सय ७० सांसद उपस्थित थिए । प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । कुल संसद सदस्य संख्याको तुलनामा ९७.४५ र उपस्थिति संख्याको तुलनामा ९९.२५ प्रतिशत विश्वासको मत प्राप्त गरेका हुन । सिङ्गो सदन नै प्रचण्ड सरकारको पक्षमा उभिएको छ ।
प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दिएका छन । स्वतन्त्र सांसद्हरू प्रभु साह, डा. अमरेशकुमार सिंहको मत पनि प्रचण्डले प्राप्त गरेका छन । संसदमा रहेका १२ मध्ये एक–एक सिट रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको मत दिएनन् ।
नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विपक्षमा मतदान गरेका थिए । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डले सात राजनीतिक दल र दुई स्वतन्त्र गरी १६९ सांसदको समर्थन प्राप्त गरेका थिए । दावी प्रस्ताव भन्दा प्रचण्डले ९९बढि मत पाएका छन । यसैविच प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको मर्म र भावनाभन्दा दायाँबायाँ नजाने स्पष्ट पारेका छन । ‘संविधान राज्यको मूल कानुन हो । निकै मिहिनेत गरेर अहिले प्रमुख दलहरूको समझदारीबाटै यो संविधान बनाइएको हो,’ उनले भने, ‘सत्तासाझेदार दल संविधान र संघीयता कार्यान्वयनमा प्रतिबद्ध छौँ । प्रधानमन्त्रीका नाताले संविधानको रक्षाका निम्ति अन्तिमसम्म प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ प्रस्तावमाथिको छलफलमा भाग लिँदै एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन उचित थियो भन्ने धारणा लगातार दुई दिनसम्म बैठकमा उठेको भन्दै त्यो गठबन्धनकै धारणा हो कि ? भनी प्रश्न उठाएका थिए । प्रचण्डले सत्तागठबन्धनका दलहरू न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको भन्दै प्रतिनिधिसभा विघटन ठीक कि बेठीक भन्ने बहसतर्फ जान नचाहेको बताए । उनले भने, ‘सदन विघटन सही थियो कि थिएन हाम्रो विषय होइन । भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा र्पुयाउने हुन सक्छ । संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध छौँ ।’

ताजा समाचार