कञ्चनपुर : शुक्लाफाँटा नगरका स्थानीले जनताले अघि सारेका माग सम्बोधन बिनै नदीजन्य पदार्थ उत्खनन् नगर्न माग अघि सारेका छन । शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का कार्य अघि बढाएपछि स्थानीय आन्दोलन भएका थिए । आइतबार वडा कार्यालय घेराउ गरेका स्थानीयले सोमबार शुक्लाफाँटा नगरका प्रमुख रण बहादुर महरालाई ज्ञापन पत्र बुझाउँदै ८ का स्थानीयले अघि सारेका माग सम्बोधन नगर्दा उत्खनन् कार्य अघि नबढाउन माग अघि सारेका हुन । नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समितिका संयोजक रुकुम सिह ठगुन्नाले प्रभावित क्षेत्रका जनताले अघि सारेका माग सम्बोधनको माग अघि सारेर मेयरलाई ज्ञापन पत्र बुझाएको बताए । तटबन्धनको सुनिश्चितता बिनै नगरपालिकाले उत्खनन् गर्ने कार्यबाट ठुलो विपद् निम्तिने भएकाले त्यसलाई रोक्नुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

‘हामीले यो क्षेत्रमा बषौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका थियौँ, ‘उनले भने, ‘अहिले नगरपालिकाले एक्कासी आएर उत्खनन् कार्य गरिरहेको छ ।’ संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टी बाफत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने बताए । ‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधी विशेष होईन, ‘उनले भने, ‘समग्र गाँउबस्तीको विपद् जोखिम न्यूनिकरणका लागि हो ।’ नगरपालिकाले सुनबरा, बनहरा अखौनी सहितका स्थानीय खोला नदीनालाबाट नदिजन्य पदार्थ ढुङगा, गिटी र वालुवा बाफत रोयल्टी संकलनका लागि गणपति कस्ष्ट्रक्सन प्रालिले ६८ लाख १३ हजारमा ठेक्का लगाएपछि स्थानीय आन्दोलित भएका छन । माग सम्बोधन नभए फेरी मंगलबारदेखि नगरपालिका केन्द्रीत आन्दोलन गर्ने तयारी रहेको छ । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले यस अघि उक्त खोलानालाबाट अवैध रुपमा उत्खनन् भईरहेको बताउँदै यस पटक वैधानिक रुपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताए । मेयर महराले स्थानीय जनताले अघि सारेका माग सम्बोधन गरिने बताए ।







