कञ्चनपुर : अध्ययन समितिको प्रतिबेदनले हलिया समुदायमा आसा जगाएको छ। झण्डै ३ बर्ष अधि देखि अवरुद्ध भएको हलिया पुर्नस्थापन कार्यक्रम सुचारु गर्न नेपाल सरकार प्रतिबद्ध भएकोछ । हलिया महासंघको निरन्तर अभियानको परिणाम स्वरुप यो सम्भव भएको हो । केहि समय अधि भूमिव्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयले हलियाका समस्या अध्ययन गर्न बरिष्ठ मानब अधिकारकर्मी श्याम श्रेष्ठको संयोजकत्वमा, अधिकारकर्मी हरी श्रीपाईली, गणेश बिके र मन्त्रालयका २ जना उच्च अधिकारी सम्मिलित ५ सदस्सीय अध्ययन समिति गठन गरेको थियो । अध्ययन समितिले मिति २०७८ फागुन ५ देखि १२ गते सम्म सुदुरपश्चिम र कर्णाली प्रदेशका ११ जिल्लाका मुक्त हलिया बस्तीमा अध्ययन गरेको कुरा मुक्त हलिया अध्ययन समितिका सदस्य हरी श्रीपाईलीले बताए ।

बिशेष गरि अध्ययन समितिले पुर्नस्थापन भएका मुक्त हलियाहरुको अवस्था, हलियाहरुको तथ्यांकमा नाम छुटनुको कारण, जिवीकोपार्जन, सिप विकास, शिक्षा, स्वास्थ्य, रोजगारीको बारेमा अध्ययन गरेका थिए । लामो अध्ययन, बिश्लेषण पछि अध्ययन समितिले मिति २०७९ बैसाख ९ गते मन्त्रालयका उच्च अधिकारी, हलिया प्रतिनिधि, संचारकर्मीहरुको सहभागितामा भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठ लाई समितिका संयोजक श्याम श्रेष्ठले २३४ पृष्ठ लामो प्रतिबेदन हस्तान्तरण गर्नु भएको थियो । प्रतिबेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिबेदनले औल्याएका कुराहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सोही अनुरुप संघीय सरकारले आगामी बर्षको नीति, कार्यक्रम र बजेटमा हलियाका समस्या समाधान गर्ने उल्लेख गरेकोछ ।

अध्ययन समितिले सरकार समक्ष पेश गरेको प्रतिबेदनमा तिनै तहको सरकारको समन्वय र सहकार्यमा हलिया पुर्नस्थापनका बाकी कामहरु अधि बढाउने, छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गर्ने, सिप विकास र रोजगारी श्रृजना हुने कार्यक्रमहरु संचालन गर्ने, कानून पारित गर्ने, तिनै तहमा हलियाको काम गर्नका लागि कार्यबिधि र संरचना तयार गरि काम अधि बढाउने कुरा उल्लेख गरिएकोछ । अध्ययन टोलीमा सुदुर पश्चिम प्रदेश सरकारका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । आगामी बर्षको नीति, कार्यक्रम र बजेटमा सुदुर पश्चिम सरकारले समेत हलिया लाई प्राथमिकतामा राखेको कुरा भ्रमण टोलीमा संलग्न प्रदेश सरकार भुमीव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि देबेन्द्र शाहले बताए ।

यस प्रकार लामो समय देखि अबरुद्ध हुन गएको हलिया पुर्नस्थापनको कामले गति लिने भएकोछ । लुथरन विश्व फेडेरसन नेपालको सहयोगमा राष्ट्यि मुक्त हलिया समाज महासंघ नेपालद्धारा संचालित साहस परियोजनाको सहयोग र सहजिकरणमा निरन्तर गरिएको अभियान बाट यो महत्वपुर्ण उपलब्धी हासिल भएको र यस्ता अभियानहरुलाई अझै निरन्तर अधि बढाएमा मात्र गन्तब्य सम्म पुग्न सकिने र उपलब्धी हासिल हुने कुरा संस्थाका अध्यक्ष ईश्वर सुनारले बताए । हलियाको अवस्था अध्ययन पछि पुर्नस्थापनको काम अधि बढने भएपछि हलियाहरु उत्साहित भएको कुरा हलिया आन्दोलनका अगुवा राजुराम भुलले बताए ।






