महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले भीमदत्त नगरपालिकाका दुई वडामा सम्पर्क कार्यालय स्थापना गरेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी वडा नं. ३ र ५ मा सम्पर्क कार्यालय खोलेका हुन्। उनले यसअघि भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका अधिकांस वडाहरुमा सम्पर्क कार्यालय खोली सकेका छन्।
स्वतन्त्र उम्मेदवार सिंहलाई युवाहरु साथ दिने प्रतिवद्धता दिएका छन्। उनले घरदैलोका कार्यक्रमलाई समेत तिब्रता दिएका छन्। वर्षौ सत्तामा रहेर काम नगरेका व्यक्तिहरु फेरि विकास गर्ने भन्दै मत मागि रहेको उनको भनाई छ। ‘१७÷१८ वर्ष सत्तामा रहेका व्यक्तिहरु ५ वर्षभित्र विकास गर्ने भनेर मत मागि रहेका छन्, यतिका वर्ष विकास गर्न नसक्नेहरु ५ वर्षमा कसरी विकास गर्छन्,’ उनले भने, ‘परिवर्तनका लागि युवालाई स्वतन्त्र उम्मेदवारलाई साथ दिनुपर्छ, राजनीति सेवा हो, पेशा होइन्, केही मान्छेहरुलाई राजनीतिलाई पेशा बनाएका छन्, यस्तो परिपाटीको अन्त्य गर्नुपर्छ।’






