निर्णायक खेलमा सानदार जित निकाल्दै केन्या बिरुद्धको सिरिज नेपाललाई


धिरेन्द्र भट्ट/कंचनपुर : केन्या बिरुद्धको टि-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज नेपालले हात पारेको छ। केन्याको म्यामघाना खेलमैदानमा भएको शृङ्खलाको पाचौं खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको हो। ४ वटा खेलमा दुवै टोलिले समान २-२ खेल जितेपछि अन्तिम तथा पाँचौ खेल निर्णायक बनेको थियो। चौथो खेलमा खराब ब्याटिङको कारण १०२ रनको झिनो लक्ष्य भेट्टाउन नसकेको नेपालले आज उल्लेखनीय ब्याटिङ गर्यो। १७६ रनको लक्ष्य पछ्याउँदै गरेको केन्याले २० ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४४ रन बनाउन सक्यो।

केन्याका लागि सर्वाधिक नेहेमाइह ओधियाम्बो ले ३७ तथा शेम न्गोचे ले अविजित ३३ रन बनाए। नेपालका लागि बलिङ गर्दै कप्तान सन्दीप लामिछानेले र बादिर अहमदले समान २-२ तथा करन केसीले १ विकेट प्राप्त गरे। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले खेलको सुरुवात देखि नै विस्फोटक ब्याटिङ लयमा देखिएको थियो। नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाउन सफल भयो। नेपालका लागी सर्वाधिक ज्ञानेन्द्र मल्लले ४४ बलमा ५९ रन बनाए, जसमा उनले ५ चौका र २ छक्का प्रहार गरे भने अर्का ब्याट्सम्यान रोहित पौडेलले विस्फोट ब्याटिङ गर्दै ४७ रन बनाएर आउट भए। केन्याका लागि बलिङ गर्ने क्रममा व्राज पटेल, शेम न्गोचे र नेहेमाइह ओधियाम्बो ले समान २-२ विकेट लिए। आगामी डिसेम्बर २ देखी टिमबीच ३ खेलको एकदिवसीय शृङ्खला हुने तालिका रहेको छ।


ताजा समाचार

spot_img