स्थानिय तहका जनप्रतिनिधिको क्षमता अभिबृद्धि गर्न एक दिवशीय गोष्ठी

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका कार्यपालिका सदस्यहरुका लागि योजना, तर्जुमा, बजेट विनियोजन तथा प्रभावकारी कार्यान्वयन सम्बन्धी बिहीवार एक दिवशीय गोष्ठीको आयोजना गरिएको छ । मुक्त हलिया सशक्तिकरण परियोजना(अधिकार) अन्र्तगत राष्ट्रिय मुक्त हलिया समाज महासंघको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोगमा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा योजना तर्जुमा प्रकृयाका लागि कानुनी आधारहरुका बारेमा अधिवक्ता चेतराज भट्टले कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका छन ।
कार्यक्रमका सहभागीहरुलाई योजना तर्जुमा प्रकृयाका आधार,योजना तर्जुमा प्रकृया संग सम्बन्धीत समिति,योजना तर्जुमा प्रकृया, स्थानिय तहको योजना तथा बजेट तर्जुमा चरणहरु बारे अधिवक्ता भट्टले जानकारी दिएका हुन । यस संगै कार्यक्रमका सहभागीहरुलाई अनुसूचीमा भएका एकल र साझा अधिकारका बारेमा समेत जानकारी दिईएको छ ।
खाद्य सम्प्रभूता, मानव अधिकार र अपाङ्ग सम्बन्धी भएका कानुनी आधारका बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी दिईएको छ । गोष्ठीमा बोल्दै नगर प्रमुख रण बहादुर महराले योजनाको रणनैतिक तह सम्म पुगेर साझा भिजन हुनु जरुरी रहेको बताए । उनले नगरको पाँच वर्षे आवधिक योजना निर्माणका लागि कार्य अगाडी बढाई सकिएको चर्चा गर्दै आउदो असोज महिना भित्र योजना बनाई सकिने बताए । स्थानिय शासन सञ्चालन ऐनमा जनप्रतिनिधिका अधिकार किटान गरिएको उल्लेख गर्दै नगर प्रमुख महराले सबैले ऐनको परिधि भित्र रहेर अगाडी बढे नगरपालिकालाई सहज रुपमा अगाडी बढाउन सकिने बताए । मुक्त हलियाको सवालमा संवेदनशिल छौं उनले भने, मुक्त हलिया पुनः स्थापनका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्टले बुझनेले मात्रै लय समात्ने भएकाले बुझेर गरेका कार्यले दिगोपना दिने बताए । योजना लागु गर्दा यसको प्रभावकारीताबारे जानकार हुनु पर्ने उनले बताए । वडा नं ६ का वडा अध्यक्ष दान बहादुर ऐरले स्थानिय तह सञ्चालन बारे जारी भएको ऐनका प्रावधान बारे गोष्ठीमा बुझने मौका पाईएको बताए । ऐनमा भएका व्यवस्थाहरुलाई व्यवहारमा उतार्नु पर्ने उनले बताए । वडा नं ११ का वडा अध्यक्ष सेर बहादुर साउदले गोष्ठीमा सिकेका कुराहरुलाई व्यवहारमा उत्तार्नु पर्ने उल्लेख गर्दै कार्यान्वयन पक्षलाई बलियो बनाईनु पर्ने बताए । ऐनमा भएका व्यवस्था कार्यपालिका बैठकमा कार्यान्वयनमा आउदैनन् उनले भने, स्थानिय सरकारको जिम्मेवारी र दायित्वको कर्तव्यबोधका साथ ऐन अनुसार व्यवहार गरिनु पर्छ ।
कार्यपालिका सदस्य भुमा चन्दले गोष्ठी निकै प्रभावकारी भएकाले अझै यस्ता क्षमता अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन आउनु पर्ने बताईन । राष्ट्रि मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले मुक्त हलिया पुनःस्थापनको कार्यलाई टुङ्गोमा पुरयाउनु पर्ने बताए । अझै धेरै मुक्त हलिया परिवार लगतमा समावेश हुन सकेका छैनन् उनले भने, छुटेका मुक्त हलियालाई प्रमाणीकरण गरी पुनः स्थापन संगै बसोवासको व्यवस्था गरिनु पर्छ । उनका अनुसार मुक्त हलिया सशक्तिकरण परियोजना(अधिकार) परियोजना सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लाका १५ स्थानिय तहमा सञ्चालन गरिएको छ । कञ्चनपुरका तीन,डडेल्धुराका तीन, बैतडीका चार, डोटीका तीन र बझाङका दुई पालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । जनप्रतिनिधिको क्षमता अभिबृद्धि गर्नका लागि परियोजना सञ्चालन गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds