महेन्द्रनगर बजारमा कालोपत्र गर्ने ट्याङ्करमा आगलागी, दमकलको सहयोगमा नियन्त्रण ।

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने क्रममा कोलतार बोकेको ट्याङ्करमा आगलागी भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नको लागि कोलतार बोकेको ट्याङ्करमा एक्कासि आगलागी हुँदा उक्त ट्याङ्कर जलेर पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिनुभयो ।

ना ४ ख ७८८८ नम्बरको उक्त साधन निर्माण स्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासि आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले बताउनु भएको छ । उक्त घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी (थारु) घाइते भएको र उहाँको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हुँदा थप क्षति भने हुन पाएन ।

ताजा समाचार

This will close in 10 seconds