बिना मगरको निर्वाचन क्षेत्र जाँदै ओली, एमालेभित्रको असन्तुष्टि थामथुम पार्ने प्रयास


बेलौरी : दुई दशकदेखि पार्टी र जनतामाझ सक्रिय नेतालाई उपेक्षा गर्दै आफूनिकटलाई मेयरको उम्मेदवार बनाएपछि आलोचना खेपेका एमाले अध्यक्ष केपी ओली बिहिबार कञ्चनपुरको बेलौरी जाँदैछन् । कञ्चनपुरको दक्षिणी क्षेत्र निर्वाचन क्षेत्र नं. १ बेलौरी नेकपा माओवादी केन्द्रकी सांसद तथा पूर्व मन्त्री बिना मगरको निर्वाचन क्षेत्र समेत हो । जहाँ बिना मगरले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई दोब्बर मतले पराजित गरेकी थिइन । एमाले भने निर्वाचन क्षेत्र नं. १ मा तेश्रो नम्बरमा देखिएको थियो । निर्वाचन क्षेत्र नं. १ मा दुईवटा नगरपालिका र दुईवटा गाउँपालिका रहेका छन् । तर मतदाताका हिसाबले बेलौरी सबैभन्दा ठूलो नगरपालिका हो । बहुसंख्यक थारु रहेको नगरपालिकामा बैतडी, दार्चुला, कर्णालीपारिका जिल्लाका समेत एक तिहाई जति मतदाता रहेका छन् । बेलौरी नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट पोतिलाल चौधरीले विजय हासिल गरेका थिए । चौधरीका निकटतम प्रतिद्वन्द्वी थिए एमालेका पल्लव भट्ट । पचासको दशको सुरुआतदेखि नै एमालेमा संगठित भट्ट हाल भने एमाले जिल्ला सचिव हुन । नगरक्षेत्रको एमाले संगठन निर्माण र परिचालन तथा जनताका अन्य मुद्दामा सक्रियतापूर्वक लाग्ने उनी एकमात्र नेता समेत हुन । तर यसपटक जिल्ला पार्टीले भट्टलाई सिफारिस गरेपनि उनले मेयरको टिकट भने पाउन सकेनन् । कारण थिइन कमला बोहरा । कमला बोहरा, जसलाई यिनै भट्टले राजनीतिको कखरा सिकाएका थिए । भट्टकै छिमेकी समेत रहेकी कमलाले अखिलको सदस्यता भट्टबाटै लिइन र राजनीतिक ज्ञान पनि उनीबाटै पाइन । त्यतिखेर बेलौरीमा मसालको संगठन बलियो थियो । प्रतिष्पर्धा समेत मसाल, एमाले र कांग्रेसबीच हुन्थ्यो । यो अवस्थामा भट्टले त्यहाँको संगठनको कमाण्ड सम्हाले ।

एमालेबाट कुलबीर चौधरी २०५४ को स्थानीय निर्वाचनमा गाविस अध्यक्ष बनाउन भट्टको ठूलो योगदान थियो । तर संगठनमा जति कुशलता देखाएपनि संसदीय राजनीतिमा नेताहरुको चाकरी गर्ने कुरामा पछि परेपछि भट्ट अहिले मेयरको टिकटबाट समेत वञ्चित हुन पुगे । कमला बोहराले राजनीतिक यात्रा सुरु गर्दै जाँदा उनको सम्पर्क केपी ओलीसँग भयो । भट्टहरु बेलौरीमा जनमोर्चा (पछि माओवादी) र कांग्रेस जुधिरहँदा, भारतीय क्षेत्रबाट सीमा मिचेर उठिवास भएको बेला सीमा रक्षाको लडाईं लडिरहेको बेला कमला भने ओलीको सदासयताका कारण चीनमा अध्ययन गर्न गएकी थिइन । चीनबाट फर्केपछि उनलाई फिल्डको राजनीतिका लागि पठाए ओलीले । ओलीसँग उनले यति निकट सम्बन्ध कसरी बनाईन, त्यसको जवाफ कमलासँगै होला, तर ओली प्रधानमन्त्री भएको बेला भूमि समस्या समाधान आयोगको जिल्ला संयोजकमा जिल्ला र प्रदेश एमाले कमिटीले भट्टको नाम सिफारिस गरेपनि ओलीले भने कमला बोहरालाई संयोजक नियुक्त गरे । भूगोल र एजेण्डाको जति ज्ञान भट्टलाई थियो, त्यति कमलालाई हुने सम्भावना थिएन । यो पृष्ठभूमिमा यसपटकको मेयरको उम्मेदवारी भट्टबाट खोसियो । तर यसले बेलौरीको पार्टी कमिटीमा भने व्यापक असन्तुष्टि निम्त्यायो । के का लागि पार्टीमा बस्ने त भन्ने प्रश्न व्यापक बन्यो । यता केपी ओलीका लागि भने प्रचण्डसँग जोडेर जसरी पनि बिना मगरको क्षेत्रमा आफ्नो साख कायम गर्नु अनिवार्य बनेको थियो । “पार्टीमा भविष्य नै देखिएन ।” पल्लव निकट एक नेता भन्छन, “संगठनमा काम गर्यो, जनताका लागि लड्यो, रातदिन नभनी पार्टीको काममा जुट्यो तर पद पाउँदा टुरिष्टहरुले बाजी मारे” अहिले बेलौरी नगरपालिकाका इमान्दार र प्रतिबद्ध एमाले कार्यकर्तामाझ निराशा छाएको उनले बताए । पार्टी भनेर लागेपनि निर्णायक क्षणमा बारम्बार धोका हुँदा भोली पनि धोका नहोला भनेर कसरी पत्याउने प्रश्न आम कार्यकर्ताले गरिरहेको उनले बताए । “हामीहरुमा उत्साह छैन । पार्टीको निर्णय मानेर चुनावमा गइदिने कुरा एउटा हो, तर अहिले पल्लवमाथि अन्याय गरेपछि अरु कार्यकर्ताको भविष्य समेत अन्यौलमा परेको लागेको छ । कसका लागि र के का लागि हिँड्ने ?” भन्ने प्रश्न जन्मेको छ ।”

उनले भने । राजनीतिमा निरन्तरता, क्रियाशीलता, जनतासँगको सम्बन्ध, राजनीतिक इमान्दारिता जस्ता पक्ष महत्वपूर्ण हुन्छन् । तर पल्लवका हकमा भने यी लागु भएनन् । बरु नेतृत्वले निर्मम तरिकाले उनको राजनीतिक इमान्दारिताको घाँटी रेटेको उनी निकट अर्का नेता बताउँछन् । राजनीतिको कखरा सिकाउने नेताको योगदानको बली चढाउन सक्ने कमलाले भोली नगरको समग्र विकास पक्षपातरहित ढंगल गर्न सक्लिन त ? भन्ने प्रश्न एमाले पंक्तिमा जन्मिएको उनी बताउँछन् । बेलौरीमा अहिले पनि माओवादी केन्द्र नै बलियो देखिन्छ । यसअघि माओवादीबाट मेयर रहिसकेका पोतिलाल चौधरी मेयरमा फेरी उम्मेदवार छन् । एमालेभित्रको चर्को विवादका कारण र कमलाको फिल्डमा सक्रियता नभएको कारण हार्ने उम्मेदवारलाई किन भोट दिने भन्ने मानसिकताको फाइदा चौधरीलाई हुने देखिन्छ । “पल्लव भएको भए एउटा कुरा हो, तर कमलालाई जिताएर पनि उनले भूगोल र समुदायको भावना बुझ्ने होइनन्, । बाहिर बढी बस्ने र क्षेत्रका जनताको दुखसुख बुझ्ने मानिसलाई नै मत दिनुपर्छ भन्ने आम धारणा रहेको छ ।”पल्लवका सहयोगी भन्छन् “मेयर छँदा पोतिलालका बारेमा कतिपय हल्ला भएपनि जनताको घरदैलोमा जाने र जनताले पनि प्रत्यक्ष सम्पर्क गर्नसक्ने उनी नै हुन । यस्तोमा ओलीले अघि सारेको भरमा कमलालाई कसरी समर्थन गर्ने ? बरु हामी कांग्रेसलाई भोट हाल्छौं” यो विवादको पृष्ठभूमिमा केपी ओली बेलौरी जाँदैछन् । ओलीका अगाडि एकातिर बिना मगर र सारमा प्रचण्डको बिरोधको ‘फण्डा’ बेलौरीबाट सिर्जना गर्नसक्ने अवसर छ । अर्कोतर्फ उनको उपस्थितिले पार्टीभित्रको गञ्जागोल अवस्था चिर्ने स्थिति बन्न सक्छ भन्ने सोचेर नै ओलीलाई बेलौरी बोलाएको हो । केपी ओली देशका ७५३ स्थानीय तहमध्ये एक दुईमा मात्रै प्रचारमा गएका छन्, त्यो पनि आफ्नो गृहजिल्लामा । तर उनले बेलौरी नै किन रोजे त ? यो प्रश्नको जवाफ उनले कमलालाई किन मेयरको उम्मेदवार बनाए त भन्ने प्रश्नसँग सोझै जोडिन्छ ।

ओलीका लागि बेलौरी भनेको प्रचण्डकी बुहारी बिना मगरको निर्वाचन क्षेत्र हो, अर्को कुरा उनले कमलालाई टिकट दिएको कुराको ‘जस्टिफाई’ गर्नुपर्ने बाध्यता छ । तेश्रो कुरा बेलौरीको विवादले सिँगो कञ्चनपुरमा असर पर्न सक्छ । किनभने जिल्ला पार्टीले सिफारिस गरेका एकजनाबाहेक अरु कुनै पनि उम्मेदवार ओलीले सदर गरेका छैनन् । तर ओलीले बेलौरीमा चर्को भासण नै गरेपनि कमलाको पक्षमा माहौल पल्टिएला भनेमा भने स्थानीय खुशीराम चौधरी शंका व्यक्त गर्छन् । स्थानीय व्यापारी समेत रहेका चौधरी भन्छन्, ‘एमालेको आन्तरिक विवादलाई चानचुने ग्लुले जोडन सक्दैन । ओलीले गम्भीर गल्ती गरेका हुन, संगठनमा होल्ड नभएकालाई टिकेट दिएर इमान्दार नेता र कार्यकर्ताको मन दुखाएका छन् । हामीले कमलालाई किन भोट नदिने ? टुरिष्ट नेता भन्दा त माया, गाली जे पनि गर्न सकिने त्यसमा पनि चौधरी समुदायकै पोतिलालाई भोट किन नदिने भन्ने सबैतिर परेको छ ।” माओवादी नेतृ बिना मगर भने एमालेले सोझा थारुहरुलाई जहिल्यै पनि उपेक्षा गर्दै आएको बताउँछिन् । माओवादीले थारु उठाउँदा जातको कुरा गर्ने तर आफू पनि थारुहरुमाथि हैकम गरेर राजनीति गर्दै आएको उनी बताउँछिन् । “पार्टीभित्र नै निरंकुशता लादेर इमान्दार कार्यकर्ता सहीद बनाउने एमालेले भोली जनताका लागि के गर्ला र ?” उनी भन्छिन्, “बेलौरीका लागि माओवादी नै एकमात्र विकल्प हो, भएका गल्ती इमान्दारितासाथ सच्याइन्छन्, तर एमाले या कांग्रेसले यो क्षेत्र र यहाँका जनतालाई न्याय गर्न सक्दैनन् । उनीहरुभित्रकै रडाकोले यो पुष्टि भएको छ ।”


ताजा समाचार

spot_img