महेन्द्रनगर : कृष्णपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) आक्रामक देखिएको छ । कृष्णपुरमा एकीकृत समाजवादीबाट मेयरमा सुरेन्द्र बम र उपमेयरमा मञ्जु नेपाली उम्मेदवार छिन् । उनीहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । ९ वटा रहेको कृष्णपुरका अधिकांस वडामा घरदैलो अभियान सकिएको मेयरका उम्मेदवार बलमे बताए । ‘प्रत्येक वडाका घरघरमा पुग्छौं,’ उनले भने, ‘मत माग्छौं, मतदाता शिक्षा पनि दिन्छौं ।’ कृष्णपुरमा एकीकृत समाजवादी र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी रहेको उनको भनाई छ ।

‘हाम्रो प्रतिस्पर्धा कांग्रेससँग मात्रै हो,’ उनले भने, ‘हाम्रो पक्षमा जनमत छ, अन्य पार्टीसँग हाम्रो प्रतिस्पर्धा हुँदैन् ।’ ५ वर्षको कार्यकालमा १५ जना डाक्टर र १५ जना इन्जिनियर उत्पादन गरिने उनको भनाई छ । ‘प्रत्येक वर्ष विपन्न, दलित र जनजाती गरी ३ जनालाई एमबीबीएस र ३ जनालाई इन्जिनियरिङ निशुल्क पढाउँछु,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, खानेपानी सबैको पहुँचमा पुगाउने छौं ।’ सबै गाउँलाई सुविधा सम्पन्न सडक सञ्जालसँग जोडिने उनको भनाई छ ।

‘प्रत्येक वडाका एउटा सडकलाई कालोपत्रे गर्ने छौं,’ उनले भने, ‘५ वर्षभित्र सबै मुख्य सडक कालोपत्रे गर्ने हाम्रो योजना छ ।’ प्राविधिक शिक्षामा जोड दिएर युवालाई रोजगारीसँग जोड्ने योजना रहेको उनले सुनाए । ‘प्राविधिक शिक्षालय स्थापना गरी दक्ष प्राविधिक उत्पादन गर्ने छौं,’ उनले भने, ‘विदेशबाट फर्किएका युवालाई स्वादेशमै उद्यमी बनाउने छौं ।’ कृष्णपुरलाई पर्यटकीय नगरीको रुपमा विकास गरिने उनले बताए । ‘कृष्णपुर नगरपालिका पर्यटनको सम्भावना बोकेको नगर हो,’ उनले भने, ‘पर्यटनलाई आर्थिकसँग जोड्ने छौं, समृद्ध नगर बनाउने हाम्रो योजना छ ।’







