कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारीमा आज मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारा सहित केक काटेर ६५ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । क्षेत्रिय सहकारी समन्वय समितिको आयोजनामा अन्र्तक्रिया कार्यक्रम गरी सहकारी दिवस मनाईएको हो । सृजनशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले प्रविधिलाई आत्मसात गरी सहकारीका कार्यक्रमलाई छिटो छरितो सेवग्राही सम्म पुरयाउन सक्ने कुरामा जोड दिनु भएको छ ।


कार्यक्रममा बोल्दै सृजनशिल बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धन निर्देशक मदनराज भट्टले सहकारी दिवसको नारा जस्तै सहकारीले गर्ने कार्य मर्यादित हुनु पर्ने बताउनु भयो । सहकारीले ऐन नियमको पालना गरी सरकारी मापदण्ड अनुरुप कार्य गर्नु पर्ने उहाँले बताउनु भयो । सहकार्य गरी ठुला सहकारीले साना सहकारी संस्थालाई हातेमालो गरी अगाडी बढाउनु पर्नेमा उहाँको जोड थियो । तीन खम्बे अर्थ नीतिमा सहकारीलाई राखेपनि सरकारले अझै सम्म विश्वास गर्न नसकेको उहाँले उल्लेख गर्नु भयो । क्षेत्रिय सहकारी समन्वय समितिका उपाध्यक्ष जोगि सिंह सोवले नगरपालिको सहकारीको उत्थानका लागि बजेट विनियोजन नगरी भेदभाव गरेको बताउनु भयो । नगरपालिकाले यस क्षेत्रमा क्रियाशिल सहकारी संस्थाको विकासका लागि नत बजेटको व्यवस्था गरेको छ ।


नत कुनै किसिमका तालिम र कार्यक्रमनै सञ्चालन गरेको छ उहाँले भन्नु भयो, समन्वय समिति नभएको भए यहाँका सहकारी संस्था टुहुरा हुने थिए । नगरपालिको सहकारीलाई व्यवस्थीत गर्नका लागि ऐन विनियम, कार्यविधि बनाएको नबनाएको बारे जानकारी समेत नभएको उहाँको भनाई थियो । विश्वास कृषि सहकारी संस्थाका अध्यक्ष धर्मानन्द जोशीले प्रविधिको प्रयोग गरी कारोवार गर्ने सहकारी थोरै भएको उल्लेख गर्दै समय अनुसार सबै सहकारीले कारोवारलाई पारदर्शी र विश्वसनिय बनाउनका लागि प्रविधि संग जोडिएर अगाडी बढनु पर्ने बाउनु भयो ।


विजय एकता महिला सहकारी संस्थाका व्यवस्थापक बिष्ना पन्तले प्रविधि बारे अनभिज्ञ भएको बताईन । कम्प्युटर छ कारोवार सबै हातैले राजिष्टरमा लेखेर राख्ने गरेका छौं उहाँले भन्नु भयो, सिक्दै जाने क्रममा छौं । कार्यक्रमलाई समापन गर्दै सृजनशिल सहकारी संस्थाका अध्यक्ष भट्टले किसानको पहुँच पुग्ने गरी रासायनिक मलको व्यवस्था गरिनु पर्ने बताउनु भयो । वितरण प्रणालीलाई व्यवस्थीत गर्नका लागि नगरपालिकालाई दवाव दिईने उहाँको भनाई थियो ।






