पशुपन्छीको उपचारका लागि कञ्चनपुरमा भेटेरीनरी अस्पताल संचालनमा


कञ्चनपुर : पशुपन्छीको उपचारका लागि कञ्चनपुरमा भेटेरीनरी अस्पताल खोलिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले महेन्द्रनगरमा भेटेरीनरी अस्पताल संचालनमा ल्याएको हो । किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरिय उपचारका लागि अस्पताल निर्माण गरिएको हो । कञ्चनपुरको महेन्द्रनगर स्थित पशु सेवा विज्ञ केन्द्र परिसरमै भवन निर्माण गरेर पशु अस्पताल संचालनमा ल्याएको हो । पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी शंकरदत्त जोशीले किसानका घरपालुवा जनावरको उपचारका लागि आधुनिक अस्पताल संचालनमा ल्याएको बताए । उनका अनुसार अस्पतालमा एक्सरे, अल्ट्रासाउण्ड मेसिनबाट बिरामी पशुको चेकजाँच गरिने छ ।

‘भवन भित्र एक्सरे र अल्ट्रासाउण्ड मेसिन छुट्टाछुट्टै कक्षमा राखिएका छन, ‘उनले भने, ‘एक उपचार कक्ष पनि छुट्टै छ ।’ वन निर्माण सेवा दार्चुलाले ३४ लाख, ११ हजार ७ सय ७६रुपैया लागतमा एकतले अस्पतालको भवन निर्माण गरेको थियो । बिहीबार एक कार्यक्रमका विच भूमि व्यवस्था तथा सहकारीमन्त्री बिनिता चौधरीले अस्पतालको उद्घाटन गर्दै किसानका लागि सुविधा हुने बताईन । ‘अब जिल्लामै पशु अस्पताल संचालनमा आएको छ, ‘उनले भनिन, ‘किसानका समस्या सहज ढङगबाट सम्बोधन हुन्छन ।’ मन्त्री चौधरीले कार्तिक पहिलो साता कञ्चनपुरमा गएको वाढिले क्षतिग्रस्त कृषि क्षेत्र सहित किसानको राहतका लागि प्रदेश सरकारले २५करोड बिनियोजन गरेको बताउदै चाँडै किसानै खातामा पठाईने बताईन ।भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले अब किसानले आफ्ना घरपालुवा जनावर बिरामी भएपछि अन्यन्त्र लैजानुपर्ने बाध्यता हटेको बताए । राज्यमन्त्री सुनारले किसानका लागि बिमाको समेत व्यवस्था गरिने बताए । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा। मदन सिह धामीले सुदूरपश्चिममा पहिलो पशु अस्पताल कञ्चनपुरमा संचालनमा आएको बताए ।

‘हाम्रो प्रदेशको पहिलो पशु अस्पताल कञ्चनपुरको भएको छ, ‘उनले भने, ‘कैलालीमा पनि अस्पताल बनाउने तयारी छ, यसैगरि अन्य जिल्लामा पनि बनाउँछौँ ।’ पशु तर्फका सेवा सुविधा विस्तार हुने उनले बताए । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा। पानसिह ठगुन्नाले न्यूनतम पूर्वाधारका विच पनि अस्पताल संचालनमा ल्याईएको बताए । ‘अब हामीले किसानलाई गुणस्तरिय सेवा दिन्छौँ, ‘उनले भने, ‘पशुपालक किसानलाई अब सुविधा हुन्छ, किसानको पशु रोगकै कारण रोग पत्ता नलागेर मर्नुपर्ने बाध्यता हटछ ।’ जिल्लामै पहिलो पटक पशु अस्पताल निर्माण भएसंगै किसान समेत हर्षित भएका छन । कञ्चनपुरका अगुवा किसान एव प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन समितिका अध्यक्ष दशरथ भण्डारीले जिल्लामा पशु अस्पताल नहुँदा किसान मारमा पर्दै आएको बताउदै अस्पताल निर्माणसगै सम्बन्धीत पक्षबाट नियमित र गुणस्तरिय सेवा दिनुपर्ने बताए ।

‘पशु अस्पताल संचालनमा आएको छ, ‘उनले भने, ‘पशुमा देखिने विभिन्न रोगको निदान हुन्छ ।’ कार्यक्रममा छाडा पशुको व्यवस्थापनको माग अघि सार्दै किसान उत्तम बम र बेदकोट सुडाका शुक्लाफाँटा दुग्ध चिस्यान केन्द्रका किसानले अनुदान एव उपकरण, बजारको माग अघि सारेर मन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रममा पशु विकास अधिकृत महेन्द्र पाण्डेले स्वागत मन्तव्य राखेका थिए । भने सूचना अधिकारी शंकर दत्त जोशीले संचालन गरेको कार्यक्रममा किशान सहितको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img