कञ्चनपुर : कञ्चनपुर भूमिहीनहरुले जग्गामा स्वामित्वको माग गर्दै संघर्षका कार्यक्रम अगाडी बढाउने भएका छन । सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्त कमैंया महिला तथा अव्यवस्थीत बसोवासीहरु संगठितभै जग्गामा स्वामित्वको माग गर्न थालेका हुन । सरकार द्वारा गठित राष्ट्रिय भूमि आयोगलाई तत्काल कार्य अगाडी बढाउन दवाव दिनका लागि सात सदस्यीय केन्द्रिय संघर्ष समिति समेत गठन गरेका छन ।

संघर्ष समितिको संयोजकमा बहादुर सिंह महरा, सदस्यमा बल बहादुर डाँगी(सुकुम्बासी),गोबिन्द नेपाली( आरक्ष पीडित),चम्फादेवी सार्की( भूमिहीन दलित) सिता कुमारी डगौरा(मुक्त कमलरी), लाहुरे डगौरा(मुक्त कमैंया) र कर्ण बहादुर बाँनिया(अव्यवस्थीत बसोवासी) रहेका छन । “सुकुम्बासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्त कमैंया महिला तथा अव्यवस्थीत बसोवासीका नाममा पटक पटक आयोग, कार्यदल बन्ने र कार्य नगरिकनै विघटन गर्ने कार्य दोहरयाउने कार्य मात्रै हुन थालेका छन” संयोजक महराले भन्नु भयो, “वर्षौ देखि भूमिको समस्यालाई ज्यूँका त्यू राखिने गरिएको छ । पीडितहरुलाई निर्वाचनका बेला गुलिया अश्वासन दिएर समस्यालाई बल्झाउने कार्य मात्रै हुदै आएको छ ।”

समस्या समाधानका लागि दवाव दिनका लागि शान्तिपूर्ण संघर्षका कार्यक्रम अगाडी बढाउनका लागि संघर्ष समिति गठन गरिएको उहाँले बताउनु भयो । भूमिको समस्या संग जुध्दै आएका पीडितहरुको बिहीवार बृहत भेला आयोजा गरी संघर्ष समिति गठन गरिएको उहाँको भनाई रहेको छ । राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर संघर्षका कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाईने उहाँले बताउनु भयो । शुक्रवार( आज) प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई तत्काल भूमि आयोग सम्बन्धी कार्य अगाडी बढाउनका लागि माग सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान नगरिए चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सञ्चालन गरिने बताईएको छ । कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थीत बसोवासी रहेका छन । तीन हजार एक सय ५१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलित रहेका छन ।







