लक्ष्मी पूजा | लक्ष्मी जयन्ती | सुखरात्रि


हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ । यि द्वारहरुबाट बर्षै भरि खुशी अनि उत्साहको प्रवेश होस् । उर्जावान तिहारको उज्यालो शुभकामना !सुखरात्रि सुखरात्रि बुझ्नका लागि चार विशेष रात्रिहरु पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरुलाई महत्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ ।
यि चार रात्रिहरु वर्षका फरक फरक दिनमा पर्दछन् ।

पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बधित भगवान् श्रीकृष्णको जन्माअष्टमीको रात हो जस्लाई मोहरात्री पनि भनिन्छ । मोहरात्रिबाट वर्षका चार विशेष रात्रिहरुको शुरुवात हुन्छ ।

दोश्रो, असोज महिनामा पर्दछ । नवरात्रिको अष्टमीको रात अथवा कालरात्री पनि भनिन्छ, यस रात्रि शक्ति र सार्मथ्यका लागि विशेष महत्वपूर्ण रहन्छ ।
तेश्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग संबन्धित लक्ष्मीपूजाको रात अथवा सुखरात्री

चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग संबन्धित भगवान् शिवको रात अथवा शिवरात्री । आजचाँही सुखरात्रि, यस वर्षको सुखरात्रिको सबैलाई शुभकामना छ ।

“भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँशीको बारो, गाईतिहारो भैलो….”

टोलछिमेकका चेलीबेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रे माैलिक स्वाद लिन पाइने यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।

आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार ‘गौ माता’को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना । साभार:हाम्रो पात्रो


ताजा समाचार

spot_img