कैलाली: मौलिक जरोकिलो पार्टी, सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा कैलालीको टिकापुरमा संगठन विस्तार भेला एवं सत्सङ्ग सम्पन्न भएको छ । प्रदेश अध्यक्ष खिमानन्द जोशीको अध्यक्षतामा सम्पन्न उक्त सत्सङ्ग एवं भेलाले टिकापुरको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएका राजु कुमार बिष्टलाई मौलिक जरोकिलो पार्टी कैलाली जिल्ला समन्वय समितिको संयोजकको रूपमा चयन गरेको छ । त्यस्तै कैलालीका विभिन्न पालिकाहरूमा समेत समन्वय समिति संयोजकहरू चयन गरिएको छ ।

बर्दगोरिया गाउँपालिकामा खेमराज बम, घोडाघोडी नगरपालिकामा डिल्लीराज आचार्य र लम्कीचुहा नगरपालिकामा सरोज रेग्मीलाई समन्वय समितिको संयोजक चयन गरिएको छ । सत्सङ्गमा कैलाली जिल्लाबाट धार्मिक, सामाजिक एवम् शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुको उल्लेख सहभागिता रहेको थियो । पार्टीका केन्द्रिय परिषद सदस्य धिरेन्द्र चन्द सोडारी, प्रदेश सचिव सावित्री गिरी साउँद, प्रदेश सदस्य चेतराज साउँद, टंक बहादुर देउवा, श्याम भट्ट, विवश बम, अभिषेक सापकोटा, मिमराज उपाध्याय लगायतले समसामयिक राजनीति, मौलिकताको जगेर्ना, सङ्गठन विस्तार र चुनौती लगायतका विषयमा चर्चा गर्नुभएको थियो ।







