कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालले आईसियु (सघन उपचार केन्द्र) सञ्चालन गरेको एक वर्ष पुरा भएको छ । अस्पताल स्थापनाको ५७ वर्ष पछि गत वर्ष भदौँ १५ गते महाकाली प्रादेशिक अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको थियो । एक वर्ष भएको उपलक्ष्यमा प्रथम वार्षिक समिक्षा तथा सम्मान कार्यक्रम राखेको थियो । जसमा एक वर्ष भित्र भएको उपलब्धी र आउदो वर्षमा थप प्रभावकारी बनाउनको लागि के कसरी अगाडि बढाउने भन्ने बारेमा समिक्षा भएको थियो ।
आईसियु सञ्चालन गर्नमा मद्दत गर्ने वरिष्ठ डा. सुभेषराज कायस्थ, डा.हेमराज पनेरु, डा. शुरेस रानाभाट र डा. विरेन्द्र बुडाललाई अस्पतालले सम्मान गरेको छ ।


महाकाली प्रादेशिक अस्पतालले आईसियु सञ्चालन गरेको एक वर्ष पुरा भएको छ । नि.मेडिकल अधिकृत हरी कुमार श्रेष्ठले महाकाली प्रादेशिक अस्पताल पहिले रेफर सेन्टरका रुपमा परिचित थियो, साना साना केसको उपचारका लागि पनि विरामी भारत तथा अन्य सहर जाने अवस्था थियो ।’ उनले भने ‘ तर अहिले अस्पतालमा पहिलेको भन्दा निकै सुधार भएको छ । पहिले आइसियू नहुदाँ धेरै विरामीले ज्यान गुमाउनु पर्ने अवस्था थियो तर अस्पतालमा आईसियू सेवा सञ्चालनमा आएको एक वर्षमा मात्रै ६२४ जनाले उपचार गराएका छन् । जसमा पुरुष २७८ जना र महिला २५४ जनाले उपचार गराएका छन । श्वासप्रश्वास सम्बन्धी ७०, हृदय रोगी १७, आर्थो ६६,स्त्रीरोग सम्बन्धी ७३, विषालु सर्पको दंशका ४८, विष सेवन गरेका ७६ जना, जी/आई १९, कोभिड– ७७ र अन्य १७८ विरामीले उपचार गराएका छन् ।


वरिष्ठ डा. सुभेषराज कायस्थले आफु धनगढी सेती प्रदेशिक अस्पतालमा मेडिकल अधिकृतको रुपमा काम गरी रहदा आफुले ले २०७० सालमा महाकाली अञ्चल अस्पतालमा पनि आईसियु सञ्चालन ल्याउन पहल गरेको र त्यसबेला कसैले पनि सहयोग नगर्दा महाकाली प्रदेशिक अस्पतालमा आईसियुको जडान हुन नसकेको बताउनु भयो ।

कार्यक्रमका सभाअध्यक्ष समेत रहनु भएका अस्पतालका व्यवस्थापन समितिा अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले अस्पतालको चौतर्फी विकास गर्नको लागि सबैले हातेमालो गर्नुपर्ने बताए । ‘स्थानिय डाक्टर, नर्सहरुलाई यही बस्ने माहोल बनाउन र बाहिर बाट आएका डाक्टरहरुलाई सम्मानका साथ हामीले यहाँ बस्ने वातावरण बनाउन पर्छ’, अध्यक्ष जोशीले भने ‘त्यसको लागि सबैको हातेमालोको आवश्यकता छ ।’






