लागु औषध अनि युवा पिढी

कञ्चनपुर : दिनप्रतिदिन लागु औषध प्रयोग कर्ताको बढ्दो जमाद देखेर बुढापाका तथा बालबालिकाका अभिभावकमा चिन्ता बढ्दो रुप लिई रहेको छ । कसरी दिन प्रतिदिन भविष्यका कर्णधार देशका खम्बा कुलत बाटोमा जाँदैछन् । जुन युवायुवतीहरुलाई अहिले सम्म बढो कठिनका साथ हुर्काइ बढाई र पढाई गरेर अब उनीहरुबाट केही आश गर्ने बेला कुलतमा परि परीवार र समाजको लागि नै खतरा भएका छन् । आमा बुवाको बुढेसकालको सहारा बन्ने बेला उल्टै सन्तानको खोजी गर्दै हिड्नु परेको छ भने प्रहरीलाई पनि कसरी लागु औषध प्रयोग कर्ता र विक्रेतालाई नियन्त्रणमा लिई यसलाई जरै बाट उखाल्ने टाउको दुखाईको कारण भएको छ । कसरी यति धेरै युवा कुलतमा परे ? आखिर यसको जिम्मेवारको किन युवा दिन प्रतिदिन कुलतमा पर्दैछन् सबैले सोच्नु पर्ने बेला आएको छ । यो प्रहरीको मात्रै जिम्मा नभएर हरेक सचेत नागरिकले समय मै सोच्नु पर्ने र सबैले आ–आफ्नो घर छिमेकबाट यस प्रकारको कुलत सँग लड्नु पर्ने बेला आएको छ । आफ्ना सन्तान नानी बाबुहरुको बानी बेहोरा र उनीहरुको संगत व्यवहार बुझेर उनीहरुलाई कुलत बाट जोगाउनु पर्ने छ । सबै काम भुलेर केही समय उनीहरुको लागि पनि निकालेर उनीहरुले के गरी रहेका छन् बुझन जरुरी छ र उनीहरु सँग केही समय विताउनु पर्दछ ।

आजकल समयको व्यवस्तताको कारण आफना नानी बाबुहरुको लागि उनीहरुले भनेको सबै चिज अथवा उनीहरुको माग पु¥याउने जस्तै मोटर साईकल, मंहगा मोबाइल र पैसा तर उनीहरुले कसरी कहाँ प्रयोग गरी रहेका छन् त्यसको बारेमा कुनै जानकारी न राख्नाले आजकल बाल बालिकामा विकृती बढदै गएको छ । छिमेकमै कुनै युवा अथवा युवती कुलतमा फस्दै गएको छ भन्ने जस्ता थाहा पाएर पनि सम्बन्धित घर परिवारलाई खबर नगर्ने आफ्नो त ठिकै छन् विग्रे अरुका विग्रीन्छन भन्ने सोच राख्ने र कसैले जानकारी दिइ हाले पनि घर परिवारले आफ्नो बाल बालिकाको पक्ष लिदैं, छिमेकी अथवा व्यक्तीलाई नै मेरा छोरा छोरी त राम्रै हुन् उसले हाम्रो रिसले यस्तो भनेको हो हामीलाई बदनाम गर्न भनेको हो भन्ने जस्ता सोच राख्ने गरेको पाइन्छ । जसले गर्दा पछि धेरै ढिला भई पछुताउनु बाहेक अरु कुनै विकल्प रहदैन् । कुनै पनि देशको लागि बाल बालिका र युवा निकै महत्व राख्दछ किनकी तिनै बाल बालिका र युवाले देशको भविष्य निर्धारण गर्ने अर्थात देश हाक्ने हुन तर यीनै युवा युवतीहरु नशाको कुलतमा परेर विकराल रुपलिएको देख्दा हरेक अभिभावकले सचेत हुनु पर्ने अवस्था आएको छ । नशाको विरुद्धमा सबै मिलेर लडनु पर्ने भएको छ । होइन भने आज छुटपुटरुपमा नशा प्रयोग गर्ने युवा युवतिको जमात भोलीका दिनमा घर घरमा नशा र कुलतमा फसेका भेटिने छन् जो समाज र देशकै लागि अभिषाप हुने निश्चित छ । आज कुनै एक क्षेत्रका युवा युवती मात्र नशाको कुलतमा नभएर देश भरिमा लाखौ युवा युवती कुलतमा फसेका छन् ।

जसको लागि प्रहरीलाई मात्र दोष दिएर आफ्नो कर्तव्यबाट विमुख भई अभिभावक निर्दोष हुने छैनन् । प्रहरीेले पक्राउ गर्नु भन्दा पहिले नै घरका अभिभावकले आफना सन्तानको बारेमा र उनीहरुको क्रियाकलापको बारेमा बुझेर उनीहरुलाई सही मार्ग दिशा निर्देशन गर्न सके युवा जमातलाई नशा मुक्त गर्न सकिन्छ । अहिले विश्व कोभिड–१९ सँग लडिरहेको छ विश्व भरिमा लाखौं मानिस कोरोना संक्रमित छन् भने लाखौ मान्छेले यसबाट मृत्युवरण गरिसकेका छन् तर लकडाउन, भ्याक्सिन, मास्क, सेन्टिाईजर, साबुन पानीले हात धोएर र समाजिक दुरी बाट हामी बच्न सक्छौ तर त्यो भन्दा पनि घातक यो बढ्दो लागु पदार्थको प्रयोग कर्ता र विक्रेता भई रहेको छ । कोभिड बाट हामी बच्न सक्छौं तर हामीले लापरवाही र यसमा छुट गरेमा एक दिन यस्तो भयावह अवस्था आउने छ पछताउनु बाहेक बिकल्प रहने छैन । आज समाजको मुख्य दुश्मन लागु पदार्थ भएको छ । युवा पुस्तालाई ध्वस्त गर्न समाजका धमिराहरु लागि परेका छन् । जसले गर्दा घर, घरेडी, जमीनका साथ साथै आफना बालबालिका समेत गुमाउनु पर्ने छ । त्यसैले हामी सबैले लागु पदार्थ विरुद्ध एक भएर अगाडी आउनु जरुरी छ ।

लागु पदार्थको प्रयोगकर्ता बढनुको मुख्य कारण लागु औषधीको सहज पहँुच, खुला सीमा नाका, अव्यस्थित सहरीकरण, देखासिखी, साथीभाइहरुको लहलहै, बेरोजगारी, छिटैं धनी हुने र सहज रुपमा पैसा कमाउने होड, एकल पारिवारिक संरचना, पारिवारिक बेमेल, एक्लोपना आदि दुव्र्यसनी बढनुका कारण रहेका छन् । लागु औषध प्रयोगकर्ताहरुले सुन्दर परिवार, सामाजिक मान प्रतिष्टा धन सम्पत्ति गुमाउनुका साथ साथै आत्महत्या जस्ता कार्य गर्न दुरुत्साहन गरेको पाइन्छ ।

लागु प्रदार्थको प्रकार
नाइट्रो भ्याट, ट्याब, सुई, ओक्सीडन, एक्सटेमी, गाँजा, चरेस, भाङ, अफिम, मफिर्न, हेरोइन, कोडिन, मेथाडोन, व्यूप्रिनफिर्न आदि जस्ता लागु प्रदार्थ प्रयोग गरेको पाइन्छ ।
यस्ता लागु पदार्थ कसैले अदम्य साहस दिने जसले गर्दा आफु धेरै बलियो महशुस हुने त कुनै दवाईले सबै पिडा भुलेर एकोहोरो बनाउने प्रयोग कर्ताहरु बताउछन् भने लागु पदार्थले आलस्यजनक, भ्रमात्मक र उत्तेजक बनाउने गर्दछन् । लागु पदार्थको अत्याधिक प्रयोगबाट मानसिक रुपले एकदम बौलाह जस्तै हुन्छ र लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी जस्ता सामाजिक अपराधहरु गर्ने गर्दछन् ।

यसको रोकथाम
हिजो आजका युवा पुस्तामा लागु औषधी जीवनसाथी जस्तै बनिरहेको छ । देशको विकासका सम्वाहक उर्जाशील युवाशक्ति कुलतमा फसेपछि परिवार एवं समाजको समेत बोझ हुने गर्दछन् । लागु पदार्थको प्रयोग कर्ताको सख्या उदेकलाग्दो तरिकाले वृद्धि भइरहेको छ । भनिन्छ कुनै पनि बालबालिको पहिलो पाठशाला उसको घर हो । जहाँ उसले घर परिवारका व्यक्तिबाट राम्रा नराम्ररा कुराहरु सिक्ने गर्दछ । घर परिवारका व्यक्तिले मादक पदार्थ, धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन गरेको देख्दा बालबालिकाको कोमल मष्तिस्कमा कस्तो रहेछ यो ठुला व्यक्तिले खान हुने हामीले किन खान नहुने भनेर उत्सुकता पलाउने र लुकिछिपी खाने गर्दा गर्दै उनीहरु कुलतमा लाग्ने गर्दछन् । पछि गएर उनीहरुको बानी नै बस्ने गर्दछ । विद्यालयमा गएर साथीहरुको लहलहैमा वा कस्तो हुदो रहेछ भन्ने विचार गर्दा गर्दै ऊ लागु औषधको लतमा लागेको थाहा हुदैंन । यसरी दिनप्रतिदिन युवाहरु लागु औषधीको प्रयोगकर्ता बढी रहेको बेला यसको रोकथामको लागि हामी सबैले पहल गर्नु पर्ने बेला आएको छ ।

खुल्ला रुपमा गाँउ घर टोल छिमेकमा मदिरा बेचविखन गर्दा आमा समुहले विरोध गर्न गर्दछन् । तर लागु औषधको यस्तो विकराल अवस्थामा जुन नियन्त्रण भन्दा टाढा देखिन्छ । यसलाई नियन्त्रण गर्न आमा समुह, टोल सुधार समिति, मानव अधिकारकर्मी, समाज सुधारक, समाजसेवी सबैले यसलाई गम्भिररुपमा लिई यसको रोकथामको लागि पहल गर्नु पर्दछ । आफ्ना बालबालिकाहरुको गतिविधि, संगतको बारेमा बुझनु पर्दछ । उनीहरुलाई केही समय दिई उनीहरुलाई आफुले माया गर्ने र आफुलाई उनीहरु निकै महत्वपुर्ण भएको आभाष दिलाउनु पर्दछ । लागु औषध दुव्र्यसनमा फसेका युवा युवतीलाई तिरस्कार, हेला गर्नाले उनीहरुमा झन् झन दुव्र्यसन तिर फस्दै जान्छन् आफुहरु एक्लो भएको महशुस गरी दुव्र्यसन एक मात्र साहारा भएको ठानी झन् झन प्रयोग गर्ने गरेको देखिएको छ ।

लागु औषधबाट बचाउन रोजगारीको व्यवस्था, समाजमा युवामैत्री वातावरण, समाजिक कार्यमा संलग्नता, कला संस्कृति, नृत्य, संगीत, खेलकुद जस्ता कार्यक्रम गर्नु पर्ने । उनीहरुका रुचीअनुसारका रचनात्मक कार्यक्रममा लगाउनु पर्ने । यसरी रोजगारी अथवा रचनात्मक कार्यमा व्यस्त भई कुलतबाट जोगित सक्छन् । लागु औषधको रोकथाम गर्ने जिम्मा प्रहरीको मात्र हो भने सोच सबैले हटाउन जरुरी छ । आज कुनै घरमा लागु पदार्थको सेवन कर्ता छन् भने भोली हाम्रा घरमा पनि हुन सक्छन त्यसकारण सबैले मिलिजुली यस विरुद्ध लड्नु पर्ने बेला आएको छ र आफना नानी बाबुहरुको बानी व्यहोरा र गति विधिमा ध्यान दिई समयमै रोक्न आवश्यक छ । सबैले हातोमालो गरी लागु पदार्थको विरुद्ध लाग्न जरुरी छ ।

ताजा समाचार

This will close in 10 seconds