भीमदत्त नगरपालिकाले ल्यायो आगामी वर्षका लागि एक अर्ब ५७ करोड बजेट

कञ्चनपुर ,
भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि एक अर्ब ५९ करोड रुपैँयाको बजेट ल्याएको छ । नवौ नगर सभा अधिवेशनमा नगर उप प्रमुख सुशिला चन्द सिहले सन्तुलित वातावरण, सुशासन सहितको समाजवाद उन्मूख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार भन्ने नारा सहित आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरेकी छन् । बजेटमा एक अर्ब ११ करोड चालु र ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । वित्तिय व्यवस्थामा एक करोड, अन्यमा पाँच करोड पनि बजेटमा समावेश गरिएको छ ।

बजेटमा १४ करोड ४३ लाख आन्तरिक स्रोतबाट आम्दानी हुने लक्ष्य लिइएको छ । यसैगरी समानीकरण अनुदान, राजश्व बाँडफाँट, समपुर अनुदान, विशेष अनुदान, क्षेत्रीय सहकारी विकास आयोजना, सडक बोर्ड नेपाल र जन सहभागिताबाट आम्दानी हुने अनुमान गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा एक अर्ब ३७ करोड बजेट विनियोजन गरिएको थियो ।

भीमदत्तले यस वर्ष २५ वर्षे गुरु योजनाका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको हो । नगरपालिकाले गत वर्ष रणनीतिक गुरु योजना बनाएको थियो । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले कोभिड १९ महामारी नियन्त्रण रोकथाम सहित स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको बताए ।

नगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गरी कोभिड संवेदनशिल सेवा प्रवाह गर्ने, मेरो नगर म बनाउँछु भन्ने नारा सहित स्वच्छ र हरियाली सहर बनाउन, प्रदेश र संघ सरकारीसित साझेदारी गर्ने, प्राविधिक शिक्षा विस्तार र भूमिहिन सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगर क्षेत्रका शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि एक वडा एक नमूना विद्यालयको नीति लिइएको छ । आगामी वर्ष पूर्ण साक्षर नगर घोषणा गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि सामुदायिक अध्ययन केन्द्र, स्वयम् सेवक र विद्यार्थी परिचालन गर्ने कार्यक्रम आएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसित साझेदारीलाई निरन्तरता, सार्वजनिक पुस्तकालय सञ्चालन, युवाको जाँगर, समृद्ध नगर कार्यक्रम सञ्चालन, महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि नीति र पूर्वाधार बनाउने, सामुदायिक विद्यालयमा हरित विद्यालय कार्यक्रम प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम कार्यक्रम समावेश गरिएका छन् । आगामी वर्ष म स्वस्थ मेरो नगर स्वस्थ, निरोगी भीमदत्त, निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई आगमी वर्ष पनि निरन्तरता दिइएको छ । सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिएर प्रसूती सेवा विस्तार गर्ने नीति लिएको छ ।

आगामी वर्ष सार्वजनिक स्थानमा नगर योग केन्द्र सञ्चालन गर्ने योजना छ । दुई सय विपन्न परिवारका लागि स्वास्थ्य बीमा गर्न बजेटको व्यवस्था गरिएको छ । भीमदत्तले महाकाली अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा सहयोगलाई निरन्तरता दिएको छ । सीमा नाकामा होल्डिङ्ग सेन्टर र हेल्थ डेस्कको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी वर्षका लागि महिलाहरुका लागि सहेली नारी उत्थान कार्यक्रम, सुरक्षित नारी, समृद्ध नारी, एक वडा एक पर्यटन गन्तव्य, भरोसा कृषि प्रवद्र्धन कार्यक्रम, एक वडा एक उत्पादन लगायतका कार्यक्रम पनि बजेटमा समावेश गरिएका छन् । सहकारी क्षेत्र बलियो बनाउन एक सहकारी एक वस्तु उत्पादनको नीति लिइएको छ । मेयर उद्यमशिलता विकास कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षमा नेपाल बैंक लिमिटेडसंग साझेदारी गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम र गरीबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले निरन्तरता पाएका छन् । नगरपालिका क्षेत्रका वन क्षेत्रलाई आय आर्जनसंग जोड्न एक वडा एक उद्यम कार्यक्रम सञ्चालन गरिने भएको छ । यसैगरी एक वडा एक उद्यान कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

फोहरबाट मोहर र मेरो सहर म आफैं सफा गर्छु अभियान सञ्चालनका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरपालिकाले दिशाजन्य लेदो व्यवस्थापन केन्द्र निर्माण गर्ने लक्ष्य लिएको छ । स्थानीय तह निर्वाचनपछि सुरु गरिएको उज्यालो भीमदत्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । नगर विपद् आपतकालिन कार्य सञ्चालन केन्द्र समेत सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
नगरपालिकाले किसानलाई सिँचाई सुविधाका लागि सोलार सिँचाई, थोपा सिँचाई, लिफ्ट सिँचाई प्रणाली विस्तार गर्ने योजना ल्याएको छ । महाकाली नदीको ब्रह्मदेब घाटमा स्नान घाट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम आएको छ । जैविक धार्मिक पर्यटकीय मार्ग कालोपत्रे, बाह्य र भित्री चक्रपथ निर्माण कार्यलाई आगामी वर्ष निरन्तरता दिइएको छ । नगर यातायात गुरु योजनाको प्रभावकारी कार्यान्वयन, स्थानीय सडक र चोकको नामाकरणलाई पूर्णता, सडक सुरक्षा अभियान सञ्चालन लगायतका कार्यक्रम पनि आगामी वर्षका लागि समावेश गरिएका छन् ।

नगरपालिकाले आगामी वर्ष सबै वडा कार्यालयका भवन निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको छ । यसैगरी सिटी हल सञ्चालनका लागि पहल गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । भीमदत्तलाई स्मार्ट सिटीका रुपमा विकास गर्न संघीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन हुने भएका छन् । सरकारले चालु वर्षमा भीमदत्तलाई स्मार्ट सिटी निर्माणका लागि छनौट गरी बजेट सुनिश्चितता गरेको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले नगरको आन्तरिक स्रोत साधनलाई मध्यनजर गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको बताए । ‘स्रोतले भ्याएसम्म नगरको विकास हुने खालको योजना ल्याएका छौ’ उनले भने । नगर सभामा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र पूर्व राज्य मन्त्री प्रकाश रावलले सम्बोधन गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds