होटलमा श्रीमानसँगै सुतेकी महिला मृत फेला

धनगढी

भारतबाट जग्गा खरिद गर्न धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी महिला मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रोकाया होटलमा मृत फेला परेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

मृतकका माइती पक्षकाअनुसार कमलाका श्रीमान सुर्जल रोकाया जग्गा खरिद गर्न भन्दै धनगढी आएका थिए। केही दिन अघि मात्र उनी पनि जग्गा पास गर्ने भन्दै पन्जाबबाट आएकी थिइन्। दुवै जनाबीच विगतदेखि नै सम्बन्ध राम्रो नभएको माइती पक्षले बताएका छन्। उनीहरुले बुधबार रातिसम्म कमलासँग टेलिफोनमा कुराकानी भएको बताउँदै घटना शंकास्पद रहेको बताएका छन्। मृतकका १ छोरा र १ छोरी छन्।

ताजा समाचार

This will close in 10 seconds