एन्फा प्रेसिडेन्ट लिग : उद्धघाटन खेलमा स्टार सिटी बिजय

कञ्चनपुर,

सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले नेपालगन्जमा सोमबारदेखि शुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ ।

नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा स्टार सिटी युवा क्लबको जितमा रुप बहादुर लामाले २ तथा दिपक राज सिंह ठकुरीले एक गोल गरे । खेलको तेस्रो मिनेटमा रुप बहादुर लामाको गोलबाट स्टार सिटीले अग्रता लिएको थियो । ४६औं मिनेटमा दिपक राज सिंह ठकुरीले गोल गर्दै स्टार सिटीको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा रुप बहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए ।

रुप बहादुर लामा खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले नगद ५ हजार सहित सम्मानित गरे ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

१५ चैतसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

ताजा समाचार

This will close in 10 seconds