कञ्चनपुरमा हात्तीपाईले रोगको प्रभाव पत्ता लगाउदै किटजन्य रोग अनुसन्धान केन्द्र

कञ्चनपुर

हात्तीपाईले रोगको अबस्था पत्ता लगाउनका लागि कञ्चनपुरमा सर्भेको कार्य शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा मकवानपुरको टोलीले हात्तीपाईले रोगको नयाँ संक्रमण छ छैन भन्ने बारे यकिन गर्नका लागि सर्भेक्षणको कार्य शुरु गरेको हो । सर्भेका लागि नौ वटा स्थानिय तहका ३० वटा वडाहरु छनौटमा परेका छन । छनौटमा परेका वडाका छ देखि सात बर्ष उमेर समुहका बालबालिकाको रगत जाँच गरी हात्तीपाईले रोग भए नभएको यकिन गरिने छ किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका इन्टोमोलोजिष्ट (किट विज्ञ) शिशिर कुमार पन्तले बताए ।

‘एक वडाबाट ३० देखि ४० जना बालबालिकाको रगतको नमूना लिन्छौं’ उनले भने, ‘तीस वटै वडाबाट एक हजार पाँच सय ५६ रगतको नमूना लिई जाँच गर्छौ ।’एनका अनुसार जाँचमा १८ जना भन्दा बढीमा हात्तीपाईलेको संक्रमण देखिए पुनः दुई चरणमा औषधी खुवाउनु पर्ने हुन्छ । कम आए खुवाउनु पर्दैन । छ र सात बर्षका बालिबालिकाहरु आम औषधी खुवाई सकेपछि जन्मेको मान्यता अनुसार ‘प्रि ट्रान्समिसन एसिसमेन्ट सर्भे’(टास) मा सहभागी गराईएको छ । ‘टासले मापन गर्न खोजेको नयाँ कुरा संक्रमण छ छैन भन्ने हो’ इन्टोमोजिलिष्ट पन्तले भने, ‘यो नयाँ संक्रमण जाच्ने उपयुक्त उमेर समुह पनि  हो ।’ कञ्चनपुरमा छ आठ चरणमा हात्तीपाईले रोगको औषधी खुवाई सकिएको छ । छ चरणमा औषधी खुवाउदा टास सर्भेमा असफल भएपछि पुनः दुई चरणमा औषधी खुवाईएको थियो । त्यस पछिको सर्भेमा कञ्चनपुर सफल भएको थियो । सर्भेका क्रममा एक प्रतिशत भन्दा कम हात्तीपाईलेका विरामी फेला परे औषधी खुवाउनु पर्दैन । बढी आए खुवाउनु पर्ने हुन्छ ।

हात्तीपाईले रोगको प्रभाव दर प्रतिशत भन्दा कम आएमा मात्र राष्ट्रिय लक्ष्य हाशिल हुने गर्दछ । यस पटकको सर्भेक्षणमा रोगको प्रभाव दर जांच हुने छ । पहिले औषधी खुवाई सकेपछि टास सर्भेको कार्य विद्यालयमा हुने गरेको थियो । जसमा कक्षा १ र २ मा पढने बालबालिकालाई सहभागी गराइन्थ्यो । कोरोनाको संक्रमणका कारण विद्यालय बन्द भएपछि सर्भेको कार्यलाई समुदायस्तरमा गरिन लागेको छ । सर्भेका लागि तीन वटा टोलीहरु परिचालन गरिएका छन । टोलीमा तीन तीन जना स्वास्थ्यकर्मीलाई खटाईएको छ । रगत जाँचको कार्यको परिणाम १० मिनेटमा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
रगत जाँच गरिएका बालबालिकाहरुलाई एक एक थान सिसाकलम र इरेजर प्रदान गर्ने कार्य संगै रगतको नमूना पोजेटिभ देखिएका बालबालिकाको उपचारका लागि स्वास्थ्य कार्यालय तथा स्थानिय तहमा तथ्याङ्क उपव्ध गराई उपचारको व्यवस्था गरिएको किट विज्ञ पन्तले बताए ।

हात्तीपाईलेको सर्भेका लागि कृष्णपुर नगरपालिकाका वडा नं १,४,७, शुक्लाफाँटा नगरपालिकाका वडा नं १,४,७,१०, बेदकोट नगरपालिकाका वडा नं १,५,८ भीमदत्त नगरपालिकाका वडा नं १,४,७,१०,१३,१६,१९ दोधारा चाँदनी नगरपालिकाका वडा नं ३,६,९ छनौटमा परेका छन । यसैगरी, लालझाडी गाउँपालिकाका वडा नं २,५ पुर्नवास नगरपालिकाका वडा नं २,६,९, बेलौरी नगरपालिकाका वडा नं १,४,७,१० र बेलडाँडी गाउँपालिकाको वडा नं ३ छनौटमा परेको छन । हात्तीपाईले रोग क्यूलेक्स जातको पोथीजातको लामखुट्टेले स्वस्थ्य व्यक्तिलाई टोकेर परजीवि सार्ने कार्य गरेपछि लाग्ने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको परजीविबाट संक्रमण भएपछि लाग्ने गर्दछ । नेपालका ६३ जिल्ला हात्तीपाईले रोगको उच्च जोखिममा रहेछन । रागेको प्रिभालेन्स दर १३ प्रतिशत रहेको छ । जोखिममा रहेको जनसंख्या २ दशमलव ५ करोड रहेको छ । रुग्णता प्रतिवेदन गरिएका बिरामीको संख्या ३० हजार बढी रहेको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्र्तगत सन् २०३० सम्म यस रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने, सन् २०२१ सम्म रोगको प्रिभालेन्स एक प्रतिशतमा झार्ने नीति रहेको छ ।

कञ्चनपुरमा हाल सम्म २० जनामा हात्तीपाईले रोगको संक्रमण देखिएको छ । सन् २०१८ मा गरिएको ‘प्रि ट्रान्समिसन एसिसमेन्ट सर्भे’(टास)मा कृष्णपुर र बेलौरीमा १ दशमलव ९७ देखि ३ दशमलव ५८ र सन् २०२० मा दुवै नगरपालिकामा गरिएको सर्भेमा ० दशमलव ३१ देखि १ दशमलव २९ प्रतिशत हात्तीपाईले रोगको प्रभाव दर देखिएको थियो ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ कार्य अगाडी बढाउदै आएको छ । संसारका ७१ मध्ये २१ संक्रमित देशहरुले आम औषधी सेन कार्यक्रम सम्पन्न गरि सकेका छन । हाल ८५ दशमलव ६ करोड व्यक्तिहरु यस रोगको जोखिममा रहेका छन । सन् २००० सम्म १२ करोड व्यक्तिहरु यस रोगबाट संक्रमित भएका थिए । चार करोड व्यक्तिहरु अंगभंग भएका थिए । हालसम्म ४९ दशमलव ९ करोड व्यक्तिहरुले पूर्ण रुपमा उपचार पाएका छन । करिव ७० अरब मात्रामा औषधी खुवाई सकिएको छ । संसारभर जोखिममा रहेका मध्ये ६५ प्रतिशत व्यक्तिहरु दक्षिण पूर्वी एशियाका नौ देशमा रहेका छन । संसारभरका बहुसंख्यक व्यक्तिहरु मा यस रोगका कारण अण्डकोष सुन्निएका पुरुषहरुको संख्या दुई करोड ५० लाख रहेको छ । खुट्टा तथा हात सुन्निएका व्यक्तिहरुको संख्या एक करोड ५० लाख रहेको अनुमान गरिएको छ ।

 

ताजा समाचार

This will close in 10 seconds