कंचनपुर

कंचनपुरमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रदान गरिने छुट तथा थप स्वास्थ्यसेवाबारे नागरिक स्तरमा जनचेतना र जनचासो बढेपछि स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको हो । नागरिकस्तरमा स्वास्थ्य सचेतना र जनचासो बढेकाले पछिल्लो समय स्वास्थ्य बिमा सेवाग्राहीको संख्यामा उल्लेख्य रुपमा बृद्धि भईरहेको राष्ट्रिय स्वास्थ्य बिमा बोर्र्ड कंचनपुरका स्वास्थ्य बिमा दर्ता अधिकारी ललित जोशीले जानकारी दिए ।

उनले भने, ‘‘कार्यालयमै आएर बिमा गराईदिनु प¥यो भनेर आउँन थालेका छन्, नागरिकको स्वास्थ्यप्रतिको सचेतना र बिमा योजना जनमुखी भएकाले नै आकर्षण बढ्दै गएको छ। ’’ जोशीले दिएको जानकारी अनुसार २०७५फागुुनदेखि जिल्लामा लागु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लाभर २२ हजार एक सय ४६ जना सहभागि भएका छन् । जिल्लाका प्रत्येक स्थानीय तहका वडाहरुमा खटाइएका स्वास्थ्य विमा दर्ता सहयोगीहरु मार्फत घरदैलोमै स्थानीय स्तरमै स्वास्थ्य बिमा फारम भरेर उक्त बिमा कार्यक्रममा सहभागी हुन सकिने जोशीले वताए । स्वास्थ्य बिमा कार्यक्रमबाट नागरिकले विभिन्न स्वास्थ्य उपचारमा छुट प्राप्त गर्ने गर्दछन् । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य स्वास्थ्य सेवा सुनिश्चित गर्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

५ जनासम्मको परिवारले बार्षिक रुपमा प्रति परिवार ३ हजार ५सय रुपैया योगदान रकम लाग्ने र परिवारमा ५ जना भन्दा बढी सदस्य भए प्रति थप सदस्यको ७ सय का दरले थप रकम तिर्नुपर्ने प्राबधान रहेको छ । जसबाट ५ जनासम्मकोपरिवारले आवश्यक पर्दा बार्षिक १ लाख सम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउँछन् । अधिकतम २लाखसम्मको बिमा गराउन सकिने बोर्डले जनाएको छ । कार्यक्रममा सहभागी परिवारका प्रत्येक सदस्यको छुट्टा छुट्टै स्वास्थ्य बिमा परिचय पत्र प्राप्त गर्ने र त्यसलाई स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिन जाँदा उक्त परिचय पत्र साथमै लगेर जाँदा बिमाले तोकेको दायराभित्रका औधउपचारमा छुट प्राप्त गर्न सकिन्छ । नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचयपत्रको आधारमा अति गरिब, अति असक्त,अपांगता,एच.आइ.भी. संक्रमित,एम.डी.आर.टी.बि. र कुष्ठरोगीहरुका परिवारलाई १०० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था छ । कंचनपुरमा भने अति गरिबको परिचय पत्र वितरण हुुन नसक्दा त्यस्ता नागरिक छुट प्राप्त गर्नबाट बञ्चित भएका छन् । यस्तै,७० वर्ष पुगेका सबै जेष्ठ नागरिकको योगदान रकम सरकारले व्यवस्था गर्ने गरिएको छ ।
महिला स्वास्थ्य स्वयम्सेविकाहरुको परिवारको हकमा योगदान रकममा ५० प्रतिशत छुट गर्ने व्यवस्था बिमा बोर्डले गरेको छ भने ५० प्रतिशत बाँकी प्रदेश सरकारले व्यहोर्ने गरेको छ । उक्त कार्यक्रममा जनसुकै बेला सदस्य बन्न सकिनेभएपनि सेवा प्राप्त गर्न तोकिएको समय सम्म कुर्नुपर्ने हुन्छ ।बैशाख,जेठ र असारमा बिमा दर्ता आबेदन दिएकाहरुले भदौ १ गतेबाट स्वास्थ्य बिमाबाट सेवा लिन पाउँछन् । यस्तै, साउन,भदौ र असोजमा स्वास्थ्य बिमा फारम भरेकाले मंसिर १ गतेदेखि सेवासुविधाको उपभोग गर्न पाउँछन् भने माघ, फागुन,र चैतमा बिमा दर्ता गराएकाले जेष्ठ १गतेबाट मात्रै स्वास्थ्य सेवाको उपभोग गर्न सक्ने व्यवस्था बोर्डले गरेको छ । कंचनपुर स्वास्थ्य बोर्डका स्वास्थ्य बिमा दर्ता अधिकारी जोशीले तुरुन्तै लागु हुने र सेवा पाउँने गरि स्वास्थ्य बिमा गराईदिनुप¥यो भन्दै कार्यालयमै नागरिकहरु आउँन थालेपनि बोर्डको नियमानुसार त्यसो गर्न सम्भव नभएको बताए । उनले असक्त, गरिब, निम्न आय भएका विपन्न समुदाय र ग्रामिण क्षेत्रका नागरिकहरु स्वास्थ्य बिमा गराउन प्रायजसो आउने गरेको उल्लेख गरे ।
महाकाली अस्पताल, दोधरा प्राथमिक स्वास्थ्य केन्द्र, बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र गरी चारवटा स्वास्थ्य संस्थालाई तोकिएको छ । त्यहाँ उपचार नहुन सके अन्यत्र रिफर गरेको खण्डमा पनि स्वास्थ बिमाबाट छुट प्राप्त हुन्छ । उक्त बिमा कार्यक्रमबाट लाभान्वित भएका नागरिकहरु खुसी हुने गरेको जोशीले सुनाए । बिमाबाट औषधउपचार प्राप्त गरेकाहरु सहयोग प्राप्त भएकोमा हार्दिकता प्रकट गर्ने गरेको जोशीले वताए । उनले स्वास्थ्य संस्थामा सुधार आएमा स्वास्थ्य बिमा गराउनेको संख्यमा त्यहि अनुपातमा बढ्दै जाने विश्वास दर्ता अधिकारी जोशीले राखेका छन् । यसरी २०७१ देखि सुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रम निम्न आयआर्जन भएका गरिब, विपन्न,दीर्घरोगी,असक्त,अपांङगता भएका नागरिकहरुका लागी दुखको साथी बन्दै गएको छ ।
