सातौं बार्षिक निसिमुरा कपमा नेपाल प्रथम

काठमाडौं 

खेलाडी तथा प्रशिक्षक रवीन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाइन काता प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । फिलिपिन्स कराते लिगको आयोजनामा भएको अनलाइन प्रतियोगिताअन्तर्गत ३७–४५ वर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कांस्य गरी ३५ पदक जितेको छ ।यसैगरी सुभाष घताने, सुभाष कार्की, मनिष कार्की, सत्कार घर्तीमगर छन् । महिलामा सञ्जु देसार, रीना श्रेष्ठ, रोशना राई, गरिमा मगर, सुविता गौतम र अनुभा मगरातीले पनि स्वर्ण जितेका थिए ।

सुभाष घतानेले नेपालकै जगतसिंह धानुकलाई रजतमा खुम्चाउँदै स्वर्ण जिते । घतानेले १८ देखि २५ वर्ष उमेर समूहको एडवाच कातामा स्वर्ण जितेका हुन् । २५ देखि ३५ वर्ष उमेर समूहमा सुभाष कार्कीले स्विडेनका खेलाडी केन्टारो एरिक्सनलाई पराजित गर्दै स्वर्ण जिते । मनिष कार्कीले फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई पराजित गरे । उनले १३ देखि १५ वर्ष उमेर समूहमा स्वर्ण हात पारेका हुन् । सत्कार घर्तीमगरले ९ वर्षमुनिको तौल समूहमा फिलिपिन्सका चाहतगट सिंगलाई पराजित गरे ।

महिलातर्फ सुविता गौतमले ९ वर्ष मुनिको समूूहमा स्वर्ण जितिन् । उनले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई पराजित गरेकी थिइन् । १० देखि १२ वर्ष उमेर समूहमा अनुभाले नेपालकै न्यान्सी क्षत्रीलाई हराउँदै स्वर्ण हात पारिन । १३ देखि १७ वर्ष उमेर समूहको एडवाच कातामा इन्डोनेसियाकी नबिला सकिला लिनोमेलाई पराजित गर्दै सञ्जु देसारले स्वर्ण जितिन् । १३ देखि १५ वर्ष उमेर समूहमा स्विडेनकी नाथली कोमरलाई पराजित गर्दै नेपालकी गरिमा मगरले स्वर्ण हात पार्दा अर्की खेलाडी रोशमा राईले १८ देखि २५ वर्ष उमेर समूहको एडवाच कातामा नेपालकै नीता आचार्यलाई पछाडि पार्दै स्वर्ण जितिन् ।

महिलाकै २६ देखि ३५ वर्ष उमेर समूह एडवाच कातामा रीना श्रेष्ठले स्वर्ण हात पार्ने क्रममा फिलिपिन्सकी कन्जेलन्न बोर्जेलाई पराजित गरिन् । ९ वर्ष मुनिको तौलमा रेन्जेन लामाले स्वर्ण जिते । उनले नेपालकै आरभ देवकोटालाई पराजित गरेका थिए । १८ देखि २५ बर्ष समूहमा आशिष कार्की सन्देश लामालाई पन्छाउँदै स्वर्ण जित्न सफल भए ।महिला ९ बर्ष उमेर समूहमा सुविता गौतमले जुलियाना मोक्तानलाई पराजित गर्दै प्रथम भइन् । यसमा वोङसिका तामाङले कांस्य पाइन् ।

यसैगरी जगतसिंह धानुक, सोनिम मानन्धर, न्यान्सी क्षत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा, नीता आचार्यले रजत पदक जितेका छन् । यस्तै जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा, आरव देवकोटाले कांस्य पदक जितेका छन् ।

ताजा समाचार