पूर्वराज्यमन्त्री रावल खल्ला–मुसेट्टी–टुडिखेलबासीका समस्या बुझ्न बस्तीमा, भन्छनः– ‘अब दुर्गम क्षेत्र रहदैन’

महेन्द्रनगर
सुदूरपश्चिम प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश सभा सांसद प्रकाश रावलले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला, मुसेट्टी र टुडिखेलमा विकासले फड्को पारेको बताएका छन् । देशमा तीनै तहका सरकार आए पछि दुर्गम क्षेत्रका रुपमा रहेका खल्ला, मुसेट्टी र टुडिखेलमा विकासको लहर चलेको उनको दाबी छ । कञ्चनपुर प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ (क)बाट निर्वाचित सांसद रावलले मंगलवार जिल्लाको एकदमै विकट ठाउँका रुपमा रहेका खल्ला, मुसेट्टी र टुडिखेलमा पुगेर त्यहाँका जनतासंग साक्षात्कार गरी समस्या तथा गुनासोहरु सुनेका छन् ।

यस्तै सांसद रावलले सो क्षेत्रमा सम्पन्न विकास तथा निर्माणाधीन विकास आयोजनाको अनुगमन समेत गरे । रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने खल्ला, मुसेट्टी, टुडिखेलबासीलाई भेटको क्रममा उनले अब यो क्षेत्र दुर्गम नरहने प्रतिबद्धता समेत व्यक्त गरे । ‘चुनावताका बेला यहाँ बाटोघाटो, बिजुली, सञ्चार सेवा, खानेपानी केही थिएन । यहाँका जनतालाई निकै समस्या थियो । तर अहिले यो समस्या विस्तारै हट्दै गएको छ ।’ उनले भने, ‘अब यो ठाउँ दुर्गम क्षेत्र रहनेवाला छैन् ।’ उनका अनुसार ती दुर्गम ठाउँलाई सञ्चारमा जोड्नका लागि टुडिखेलमा नेपाल टेलिकमको टावर जडान भएको छ । विद्युत्तका लागि ट्रान्सफरमर जडान, पोल हालेर तार तान्ने काम पनि भएको उनको भनाई छ ।

‘दशैँ अगाडि बिजुली बाल्ने गरेर काम भइरहेको थियो तर दुर्घटना भएर केही अवरोध ग¥यो । अहिले २ ठाउँमा ट्रान्सफरमर जडान गरिएको छ । टुडिखेल छुटेको रहेछ यहाँ पनि जोडिन्छ ।’ उनले भने, ‘यसपालीको तिहारमा बिजुली बाल्न पाउने गरी काम गराउँछाँै ।’ महाकाली करिडोर निर्माण पश्चात् खल्ला–मुसेट्टी–‘टुडिखेलले विकासमा कायापलट नै गर्ने उनको विश्वास छ । ‘महाकाली करिडोरका लागि ईआइए नभएर काम रोकिएको थियो । हामीले त्यो गराउन सफल भएका छौँ । अब गड्डाचौकीबाट ब्रह्मदेव, खल्ला–मुसेट्टी–टुडिखेल भएर करिडोर बने पछि यो क्षेत्रले विकासमा कायापलट गर्छ ।’ उनले भने, ‘यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्ने योजना छ ।’

लालपूर्जाविहिन त्यहाँका स्थानीय बासिन्दालाई लालपूर्जा उपलब्ध गराइने सासंद रावलको भनाई छ । ‘भूमि व्यवस्थापन आयोग बन्दै छ । त्यो बने पछि लालपूर्जाको समस्या पनि समाधान हुन्छ ।’ उनले भने । यस्तै सिँचाई तथा खानेपानीको समस्या पनि छिट्टै समाधान हुने उनले विश्वास व्यक्त गरे । भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले तीनै तहका सरकारको पहलमा भौगोलिक रुपले विकट क्षेत्र भए पनि विकासले गति लिइरहको बताएका छन् । महाकाली नदी र खहरे खोलाले निकै सताउने गरेको बताउँदै उनले यो समस्या समाधानका लागि प्रदेश र संघ सरकारले सघाउनु पर्ने माग गरे । ‘महाकाली नदीले डुवान हुन्छ । डुवानको समस्याबाट छुटकारा पाउन खल्लामुसेट्टीदेखि ब्रह्मदेवसम्म बाध निर्माण गर्नु जरुरी छ ।’ उनले भने ।

 

ताजा समाचार