महेन्द्रनगर जेसिजले कोरोनाको जोखिमयुक्त समूहबीच मनायो ‘जेसिज सप्ताह’

कञ्चनपुर
महेन्द्रनगर जेसिज वर्ष २०२० ले कोभिड १९ को जोखिमयुक्त समूहबीच ‘जेसिज सप्ताह’ मनाएको छ । जेसिजले हरेक वर्ष मुख्य पर्वकै रूपमा मनाउने सप्ताहलाई यसपालि महेन्द्रनगर जेसिजले सुरक्षाकर्मी, वृद्धवृद्धा र बालबालिकाबीच मनाएको हो । असोज ३ गते संविधान दिवसको अवसर पारेर शुरू गरिएको सप्ताह शनिवार सम्पन्न भएको छ । सप्ताहको पहिलो दिन महेन्द्रनगरको दशरथ चोकमा दिप प्रज्ज्वलन गरी सप्ताह कार्यक्रम शुरू भएको थियो ।
सप्ताहको दोस्रो दिन शुक्लाफाँटा नगरपालिकाको झलारीमा कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम, इलाका प्रहरी कार्यालय झलारी र अस्थायी ट्राफिक प्रहरी पोस्ट कलुवापुरमा मास्क र स्यानिटाइजर वितरण गरिएको महेन्द्रनगर जेसिज वर्ष २०२० का अध्यक्ष हरिश भट्टले जानकारी दिए । उनका अनुसार सप्ताहको तेस्रो दिन महाकाली बाल अनाथालयमा ३२ जना बालबालिकालाई टी–सर्ट जर्सी वितरण गरिएको थियो । चौथो दिन ती बालबालिकासँगै रात्रिभोज गरिएको थियो ।
सप्ताहको पाँचौं दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरलाई छुट्टाछुट्टै मास्क र स्यानिटाइजर वितरण गरिएको अध्यक्ष भट्टले बताए ।
छैठौं दिन रौटेला वृद्धाश्रममा रहेका २२ जना वृद्धवृद्धालाई दाल, चामल, साबुन लगायत खाद्यान्न वितरण गर्दै सरसफाई गरिएको थियो । सातौं दिन शनिवार वृद्धाश्रममा दिवाभोज गर्दै सप्ताहको समापन गरिएको छ । महेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष सुरेशसिंह भण्डारीको प्रमुख आतिथ्यमा भएको सप्ताह समापन समारोहको सभापतित्व सप्ताह मूल आयोजक समितिका संयोजक तथा महासचिव हरिशप्रसाद भट्टले गरेका थिए ।
समापन समारोहमा पूर्व अध्यक्षहरू अमरबहादुर चन्द, पवनचन्द्र लेखक, दिपकराज विष्ट, लक्ष्मणदत्त भट्ट, प्रेमसिंह भाट, नरेन्द्रराज जोशी लगायतले महेन्द्रनगर जेसिज वर्ष २०२० ले कोभिड १९ को भयावह अवस्थामा पनि गरेको कार्यक्रमको प्रशंसा गरेका छन् ।
महेन्द्रनगर जेसिज वर्ष २०२० का अध्यक्ष तथा समापन समारोहका विशिष्ट अतिथि हरिश भट्टले सप्ताहव्यापी कार्यक्रका सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे । समापन कार्यक्रममा हरेक कार्यक्रमका संयोजकलाई प्रमाणपत्र वितरण गरिएको छ । ‘देशभर अनलाइनमार्फत् सप्ताहव्यापी कार्यक्रम भइरहेको बेला भौतिक रूपमै जोखिमयुक्त समूहबीच कार्यक्रम गरेकाले सबैलाई धन्यवाद,’ अध्यक्ष भट्टले भने । समापन कार्यक्रमको सञ्चालन महेन्द्रनगर जेसिज वर्ष २०२० का कार्यकारी उपाध्यक्ष कविराज अवस्थीले गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds