वक्तृत्वकला प्रतियोगिताको नतीजा सार्वजनिक

हरिश्चन्द्र बाग/ कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको नतीजा सार्वजनिक गरिएको छ । मन्त्रालयले मंगलबार वक्तृत्वकला प्रतियोगिताको नतीजा प्रकाशन गरेको हो । “विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता” भन्ने मुल नाराका साथ यही भदौ २९ गते मनाइने यस वर्षको राष्ट्रिय बाल दिवसको अवसरमा सोमबार भच्र्युअल माध्यमबाट आयोजित वक्तृत्वकला प्रतियोगितामा कञ्चनपुरको बेलौरी स्थित उग्रतारा बाल विद्यालयकी छात्रा रिजल दियाल प्रथम भएकी छन् । उनलाई रु. दश हजार रकम सहित पुरस्कृत गरिएको जनाइएको छ ।

सोही प्रतियोगितामा कैलालीको तेघरी स्थित सैनिक आवाशीय महाविद्यालयकी छात्रा मोनिका बिष्ट द्वितीय भएको मन्त्रालयले जनाएको छ । उनलाई रु. आठ हजार रकम सहित पुरस्कृत गरिएको छ । त्यस्तै, कञ्चनपुरको महेन्द्रनगर स्थित सार्क एजुकेशनका अपूर्वा लेखक तृतीय भएको जनाइएको छ । उनलाई नगद रु. छ हजार रकमले पुरस्कृत गरिएको छ । “कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु” विषयमा भच्र्युअल रुपमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको मन्त्रालयकी महिला विकास अधिकृत जयन्ती गिरीको भनाइ छ ।

यसैबीच, राष्ट्रिय स्तरमा आयोजना हुने वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनका लागि मन्त्रालयले ३ जना बालबालिकालाई छनौट गरेको छ । मन्त्रालयका अनुसार, कञ्चनपुरको बेलौरी स्थित उग्रतारा बाल विद्यालयकी छात्रा रिजल दियाल, कैलालीको तेघरी स्थित सैनिक आवाशीय महाविद्यालयकी छात्रा मोनिका बिष्ट र एक्सीस विद्या आश्रम धनगढी कैलालीका अनन्त कर्णलाई छनौट गरिएको छ । छनौट भएका बालबालिकाहरुलाई मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds