पूर्वमन्त्री प्रतापराम लोहारको जीवन

 

शंकर सिह धामी

केही मानिसहरु नाम थरबाट चिनिन्छन् थोरै मानिसहरु उसको अनुहारबाट चिनिन्छन भने धेरै मानिसहरु उसको काम र व्यवहारबाट चिनिन्छन । त्यस्तै साह्रै सुन्दर मनका धनी, सामाजिक सेवाको कार्यमा जीवन समर्पण गर्ने थाक्दै नथाक्ने तन भएका सुपुत्र थिए पूर्व मन्त्री प्रतापराम लोहार, स्वर्गिय पूर्व राज्यमन्त्री प्रतापराम लोहारको जन्म दार्चुला जिल्लाको धारी गा.वि.स वडा नं. १ ब्रमदेव मलेरामा वि.स. २०००साल भाद्र २४ गते शनिबारका दिन पिता थोले लोहार र माता कैली देवी लोहार बाट भएको थियो, दार्चुला जिल्लाको दुर्गम गाउँमा सामान्य किसान परिवारमा जन्मनु भएका लोहारको बाल्यकाल गाउँमै वितेको थियो ।

बाल्यकालमा शुशिल र सज्जन स्वभावका धनी थिए प्रतापराम, उहाँ पढ्ने बेला पढाईको सहज वातावरण थिएन, हुने खाने वर्गका केहि व्यक्तिहरुमात्र पढाई गर्थे भने अरु व्यक्तिहरु कृषि तर्फ लाग्ने गर्दथे । उहाँले बाल्यकालको शिक्षा दार्चुलाकै विद्यालयबाट अध्ययन गरि वि.सं. २०१८ सालमा दार्चुलाबाटै हाइस्कुल पास गरेका थिए । त्यतिवेला दार्चुलामा कलेज खुुली सकेका थिएनन् । कलेज शिक्षाको लागि उहाँले भारतको पिथौडागढमा गई अंग्रेजी विषयमा स्नातक पास गरेका थिए । उनी पढाईमा लगनशिल र मेहनती थिए भन्ने कुरा उनीसँगै अध्ययन गरेका महेन्द्रमा मा.वि.दार्चुृलाका पूर्व प्रधानाध्यापक दिलानन्द पन्त वताउछन् ।

पिथौरागढको ७ वर्षको पढाई पछि वि.सं. २०२२ मा अंग्रेजीमा वि.ए. पास गरेर दार्चुला फर्केका प्रतापराम लोहारले त्यसवेलामा चालचलन रीतिरिवाज, अन्धविश्वास र कुरीतिले विभिन्न अप्ठ्याराहरु भोग्नु प¥यो । उहाँले २०२३ साल तिर नै दार्चुलाको खलङगामा रहेको महेन्द्र मा.वि.मा शिक्षकको रुपमा काम गरे भने आफ्नै गाउँमा शिक्षाको ज्योती फैलाउनु पर्छ भन्ने हेतुले दार्चुला खलङगाबाट उहाँ २०२६ साल असोज १५ गते दार्चुलाको छापरी गा.वि.स. वारवौजमा श्री जनविकास वुहउद्देश्यिय मिडिल स्कुलको नाममा १२० रोपनी जग्गा दर्ता गराई संस्थापक सचिवको रुपमा काम गरेका थिए । जुन स्कुल हाल आएर उच्च मा.वि. र कृषि क्याम्पस सम्म संचालित छ ।

वि.सं. २०३१ सालमा स्व.लोहार कै अगुवाईमा दार्चुला तिङ्कर गोरेटो वाटो निर्माण लागयत वारवाज स्कुलसम्म ६ कि.मि. शाखा वाटोको निर्माण गरी विकास निर्माणमा उल्लेखनीय योगदान गर्नु भएको थियो भने वि.सं. २०३२ सालमा उहाँ सपरिवार काठमाण्डौंतिर जानु भएको थियो उहाँले त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर गर्नु भएको थियो । काठमाण्डौंमा उहाँको सहर्षनाथ कपालीसँग उठवस हुनपुग्यो र दुवै जना मिलि जनविकास परिषद जुन हाल आएर दलित समाज कल्याण संघको नामले स्थापित संस्थाको स्थापना गर्नु भो , जसमा सहर्षनाथ कपाली अध्यक्ष र प्रतापराम लोहार महामन्त्री हुनुहुन्थ्यो, सोही परिषदमा हुँदा उहाँले भारतीय कांग्रेसका अध्यक्ष एंव उपप्रधानमन्त्री तथा दलित नेता जगजीवन रामलाई भेट्नु भयो र दलित आन्दोलका लाग्ने प्रेरणा प्राप्त भयो, त्यसपछि उहाँ तत्कालीन मौसुफ सरकारबाट वि.सं.२०३३ सालमा गाउफर्क अभियानमा महाकाली अञ्चल सदस्य सचिव हुनु भयो । वि.सं. २०३९ साल भाद्र ५ गते नेपाल राष्ट्रिय समाज कल्याण संघको स्थापना गर्नु भयो ।

उहाँ काठमाण्डौंमा वस्दा उहाँको कुशल नेतृत्व, दुरदृष्टि र सहकार्यले उहाँले प्रधानमन्त्री लोकेन्द्र वहादुर चन्दको सचिव तथा सल्लाहकार भई काम गर्ने अवसर पाउनु भयो भने २०५१ साल र २०५९ सालमा उहाँले दार्चुला जिल्लाबाट प्रतिनिध सभामा राप्रपा का तर्फवाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नु भयो । त्यसवेला वहुदलवादी दलहरुको वर्चश्व भएकोले उहाँले चुनाव हार्नुभो भने चुनाव्ी दौरानमा जनताको गुनासोलाई सुनवाई गर्नु र रोजगारी सिर्जना गर्न महाकाली ओभरसिज प्रा.लि खोले जसबाट देशभरका धेरै जनतालाई वैदेशिक दिलाउन सफल भए ।

शिक्षा प्रेमी तथा समाजसेवी प्रतापराम लोहारले वि.स. २०५० सालमा अनाथ गरीव तथा निमुखा बालबालिकाहरुलाई गाँस वास कपास तथा अध्ययन गराउन ललितपुरको भैसीपाटीमा एउटा वालगृह खोले भने भीमदत्त नगरपालिका १५ मा वालगृहको शाखा खोली धेरै वालवालिकाको निशुल्क गास वास कपास लगायत शिक्षा स्वास्थ्यको व्यवस्था गरे, त्यसैगरी २०५७ सालमा अत्याधुनिक सुविधा सम्पन्न फ्लोरिडा इन्टर नेशनल वोर्डिङ स्थापना गरे । समाजसेवा तर्फ कुशल नेतृत्वका धनी प्रतापराम लोहारले राजनितिक माग पनि सँगसँगै अघि बढाउदै गए रा.प्र.पा का केन्द्रीय उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्न सफल भए भने २०६२ मंसिर २२ गते उहाँ वातावरण विज्ञान तथा प्रविधि राज्यमन्त्री बने ।

देशमा गणतन्त्र पश्चात पनि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका संस्थापक अध्यक्ष प्रतापराम लोहारले विभिन्न संघसंस्थाबाट दलित छात्रवृत्ति अक्षयकोष स्थापना गर्न महायज्ञ संचालन गर्नुभयो, र सो महायज्ञबाट संकलित भएको रकमबाट अक्षयकोष स्थापना भई हाल पनि छात्रवृृत्ति वितरण गरिरहेको छन् । जीवन को उत्तरार्ध कालमा उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भयो भने नेपाली काग्रेसमा उहाँ आमन्त्रीत केन्द्रिय सदस्य हुनु हुन्थ्यो । समाजसेवामा आफ्नो जीवन समर्पण गर्दै उहाँ एक्कासी विरामी पर्नु भयो । ६ महिना भारतको म्याक्स अस्पतालमा उपचार पश्चात निको भई घर फर्केका पूर्व राज्यमन्त्री लोहारमा पूनः जोश, जाँगर उत्साह र उमंग देखियो । उहाँले म कृषि क्रान्ति गर्छु भनि बागँफाटामा रहेको जग्गामा माछा पोखरी लगायत आपखेती सुरुवात गर्ने कार्य शुभारम्भ गर्नु भयो ।

हासिलो अनुहार सरल र मिजाशिलो स्वभावका धनी प्रतापराम लोहार एक दलित वर्गका उदाँउदा नक्षेत्र थिए , २०२५ सालतिर दार्चुला जिल्ला कै धारी गा.वि.स. ठाउँमा वस्ने जग्वा वारुडी की छोरी दुरी लोहारसँग विवाह गरेका प्रतापराम लोहारका ५ जना छोरा छोरीहरु छन । सबै छोराछोरीको आम जीवन भन्दा अलि फरक र विशिष्ट जीवन शैली छ, यस परिवारमा ज्वाई र ससुरा वीचमा घनिष्ट सम्बन्ध देखिन्छ भने सम्पूर्ण छोरी ज्वाईहरुको अत्याधुनिक सुविधा सम्पन्न जीवनस्तर छ भने एक्ला छोरा, किशन स्पेनशमा घर निर्माण गरी स–परिवार उत वस्दै आएका छन् ।
वृद्ध अवस्थामा पनि नथाक्ने अथक योद्धा अनुशासित समाजसेवी राजनीतित्र एवं शिक्षाका अभियन्ता प्रतापराम लोहारको २०७४ भाद्र २३ गते उहाँको निवास भैसीपाटीमा मृत्यु भयो । हाल उहाँ सुदूरपश्चिमेली जनताका मनमा ढुकढुकी छन् । उहाँको पार्टीका झण्डा ओढाएर सम्मानका साथ विदाई भएको थियो ।

ताजा समाचार