उच्च ज्वरोका कारण ६ जनाको मृत्यु पछि अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली दोधारा चाँदनीमा

दोधारा

माहाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौं स्थित प्रयोगशाला पठाएको छ ।

दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेन्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । ‘महामारीको संकते छैन’, उनले भने, ‘रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’ उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ ।

स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका अनुसार उच्च ज्वरो संगै मौसमी ज्वरोका बिरामीको चाँप बढेको छ । निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।

ताजा समाचार