जनतालाई कोरोनाबाट बचाउन ल्याइएको हो, यो बाहेक अरु कुनै स्वार्थ छैन : मेयर विष्ट

महेन्द्रनगर

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले कोरोना संक्रमणको परीक्षणको दायरा बढाउन खरिद गरिएको पिसिआर मेसिनलाई अनावश्यक विवादमा ल्याउनु खोजिएकोमा चिन्ता व्यक्त गरेका छन् । नगर प्रमुख विष्टदे जनस्वास्थ्यसित जोडिएको विषयमा सतही र अनावश्यक हल्ला गरी विवादमा ल्याउन खोज्नु दुर्भाग्यपूर्ण भन्दै महाकाली अस्पतालमा मेसिन जडान गरी सञ्चालनमा आउने बताए ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण उच्च दरले बढ्न थालेपछि दुई महिना अघि भीमदत्तका मेयर विष्टले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक मेसिन खरिद गर्ने निर्णय गरेका थिए । त्यस अनुसार सार्वजनिक सूचना आव्हान गरी मेसिन खरिद प्रक्रिया सुरु गरिएको थियो । नगरपालिकाले सार्वजनिक खरिद प्रक्रिया अनुसार किनेको पिसिआर मेसिन गत साता भीमदत्त नगरपालिकामा पुगेको थियो । महाकाली अस्पताललाई हस्तान्तरण गरी मेसिन सञ्चालन गर्ने तयारी छ । भीमदत्त नगरपालिकाका मेयर विष्टले भने, ‘पिसिआर मेसिन व्यक्तिगत फाइदा लाभका लागि होइन, लोकप्रियता कमाउन पनि ल्याएको होइन, कोरोना जस्तो विश्व महामारी नियन्त्रण र रोकथाममा सहयोग पुगोस भनेर मेसिन ल्याइएको हो, कोरोना संक्रमण दर बढ्दो क्रममा हुँदा त्यस अनुसार परीक्षण हुन नसक्दा मेसिन खरिद गरिएको हो ।’

मेयर विष्टले जिल्ला समन्वय समिति, महाकाली अस्पताल लगायतका सरोकारवाला निकायसित समन्वय र छलफल गरी पिसिआर मेसिन सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख गर्दैै त्यहीं अनुसार भीमदत्त नगरपालिकाले मेसिन खरिद गरेको बताए । ‘कोरोना जाँचका लागि भीमदत्त नगरपालिका, जिल्ला समन्वय समिति, महाकाली अस्पताल, सुदूरपश्चिम प्रदेश सरकार, प्रदेश साँसद सबैसित छलफल गरी मेसिन सञ्चालन गर्ने निर्णय गरिएको थियो’ नगर प्रमुख विष्टले भने, ‘त्यस अनुसार भीमदत्तले मेसिन खरिद गरेको हो, त्यस अनुसार मेसिन नगरपालिकामा पुगि सकेको छ, अब सञ्चालनको कार्य त्यहीं निर्णय अनुसार अन्य निकायले अघि बढाउनु पर्छ ।’ महाकाली अस्पतालालाई छिटो भन्दा छिटो हस्तान्तरण गरी सञ्चालनमा ल्याउन आफूले छलफल अघि बढाएको मेयर विष्टले बताए । ‘भीमदत्तले मेसिन खरिद गर्ने थियो, त्यो अनुसार मेसिन आई सकेको छ, नगरपालिका अझ पनि अन्य सहयोग गर्नु पनि तयार छ’ नगर प्रमुख विष्टले भने, ,‘त्यसका लागि अस्पताल विकास समितिका अध्यक्षज्यू लगायतसित कुराकानी भएको छ ।’

जिल्ला समन्वय समितिमा गरिएको निर्णय अनुसार समन्वय समितिले मेसिन सञ्चालनका लागि कार्यविधि बनाउने र कोष स्थापना गर्ने, महाकाली अस्पतालमा प्रयोगशाला स्थापना गर्ने र त्यसका लागि प्रदेश सरकारका साँसदहरुले आवश्यक उपकरण व्यवस्था गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको थियो । जिल्ला समन्वय समितिका संयोजक फैरुले तामाङ्गले सबै पक्षले जिम्मेवारी अनुसार अघि बढेको बताए । भीमदत्त नगरपालिकाले मेसिन महेन्द्रनगर आएकै दिन अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरलाई मेसिन अस्पतालमै लैजान आग्रह गरेको थियो । अध्यक्ष जोशीले अहिले नगरपालिकामा राख्न भनेपछि कार्यालयमा राखिएको हो । भीमदत्त नगरपालिकाका मेयर विष्टले नगरपालिकाले अनुसार सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गरी छिट्टै मेसिन सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । ‘अहिलेको अवस्थामा भने अनुसार सहज रुपमा कामकाज पनि गर्न सकिने छैन, मेसिन चलाउन बजेट व्यवस्थापन र आवश्यक जनशक्ति, उपकरणको कुरा जहाँसम्म छ, त्यसका लागि सबै पक्षसित सहकार्य र समन्वय गरी जुटाउँछौ’ नगर प्रमुख विष्टले भने, ‘मेसिन आई सकेको छ, चिन्ता गर्नु पर्ने, भ्रममा पर्न पर्ने कुनै कारण नै छैन ।

’ भीमदत्त नगरपालिकालाई नगर वासिन्दाको स्वार्थ बाहेक अरुको केही मतलब नभएको उल्लेख गर्दैै नगर प्रमुख विष्टले मेसिनलाई लिएर जनमानसमा भ्रम छर्न नहुनेमा जोड दिएका छन् । ‘भीमदत्तमा मेसिन सञ्चालन हुन यो नगरपालिका र सुदूरपश्चिम क्षेत्रका लागि गौरबको कुरा हो, यो भीमदत्तका जनताका लागि हो, यता जडान भएपछि कोरोना परीक्षणका लागि बाहिर जानु पर्ने हुँदैन’ उनले भने ।

ताजा समाचार