कक्षा-११ मा नयाँ व्यवस्था,सङ्कायका आधारमा भर्ना लिन नपाइने


अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए ।

उनले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने र भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइने तर सङ्कायका आधारमा त्यसलाई मान्यता नदिइने बताए । यसपटक कक्षा-११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक/एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा-९ र १० को जस्तै गरी लिइने भएको हो ।

विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।

ताजा समाचार