कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितता भएको छैन : प्रवक्ता सिंजाली

दोधारा

माहाकाली नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितता नभएको जनाएको छ । नगरपालिकाका नगर प्रवत्ता दिल बहादुर सिंजालीले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना रोकथाममा अनियमितता नभएको बताएका हुन् । माहाकाली नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च सार्वजनिक गरेपछि अनियमितता भएको भन्दै विभिन्न स्वरहरु बाहिर आएकोमा नगरपालिकाले विज्ञप्ति मार्फत अनियमितता नभएको प्रष्ट पारेको हो ।

प्रवक्ता सिंजालीका अनुसार माहाकाली नगरपालिका भारतसँग प्रत्यक्ष रुपमा खुला सिमा जोडिएको नगरपालिका भएकोले यस नगरपालिकामा भारतबाट आउने मानिसको संख्या बढी भएको र अरु पालिका भन्दा आवत जावत बढी हुने भएकाले केही खर्च भएको बताएका छन् । चैत १० गतेबाट लकडाउन भएपछि सिमा बन्द भएको र खुला सिमानाका कारण माहाकाली नगरपालिकाबाट थुप्रै मान्छेहरु भित्रिएको हुनाले तिनीहरुको व्यवस्थापनमा खर्च बढी भएको प्रवक्ताले बताए । माहाकाली नगरपालिका भित्र करिव पाँच हजार भन्दा बढी मानिसहरु क्वारेन्टाईनमा बसेका र तिनीहरुको खानपिन, ओड्ने ओछ्याउने सेनिटाईजर, मास्क तथा यातायातमा खर्च भएको प्रवक्ता सिंजालीले बताए । आईसोलेसन तथा क्वारेन्टाईन निर्माण लगायतका कुरामा खर्च भएको र त्यसको विस्तृत विवरण एक हप्ता भित्र सार्वजनिक गरिने प्रवक्ता सिंजालीले बताए ।

भारतबाट लुकीछिपी आएका मान्छेहरुलाई पनि क्वारेन्टाईनमा बसाई उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्याउने काम पनि नगरपालिकाले गरेको उनले बताए । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ महामारीको सामना गर्नका लागि विभिन्न मितिमा भएका नगरपालिकाको बैठकहरुबाट संघीय तथा प्रदेश सरकारको नीतिगत दायरा भित्र रही आ.व. २०७६÷७७ को स्वीकृत बजेटबाट रकमान्तर गरि कोभिड–१९ रोकथाम तथा उपचार कोष स्थापना गरिएको र प्रारम्भमा रु. १ करोड ९० लाख को कृषि विकास बैंक उपशाखा दोधारा चाँदनी शाखामा कोष स्थापना भई सो कोषमा विभिन्न संघ संस्था, व्यक्ति, विद्यालय तथा न.पा.का कर्मचारीहरु बाट ६ लाख ५२ हजार २०१ रुपैया र आ.व. २०७७÷७८ मा विनियोजित रु. १ करोड समेत गरि कुल जम्मा २ करोड ९६ लाख ५२ हजार २०१ रुपैया कोषमा प्राप्त भएको र सोही रकमबाट खर्च गरिएको थियो । लकडाउन अवधिमा संघीय सरकारको नीतिगत निर्णय बमोजिम सिमा नाकामा आवतजावत बन्द गरेको अवस्थामा समेत लुकिछिपी ७७ वटै जिल्ला र यस नगरपालिकाका नागरिकहरुको समेतको तत्काल उद्दार कार्य गर्नुपर्ने नैतिक दायित्व यस नगरपालिकामा पर्न गएकोले सो बमोजिम कार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खर्चहरुको विवरण श्री मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश धनगढी र जिल्ला समन्वय समिति कञ्चनपुर मार्फत माग भएको खर्चको विवरण तोकिएको ढाँचामा जिल्ला समन्वय समितिलाई प्रेषित गरेको र खर्च विवरणका सम्बन्धमा विभिन्न माध्यमहरुबाट कपोलकल्पित, भ्रामक र अनर्गल रुपमा उठाईएका प्रश्नहरुको सम्बन्धमा यस नगरपालिकाको ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ । यसैबीच खर्च सम्बन्धमा उठेका चासो र चिन्ताका विषयलाई सम्बोधन हुने गरी एक हप्ता भित्र पारदर्शी रुपमा विस्तृत विवरण जनता समक्ष सार्वजनिक गरिने समेत प्रवक्ता सिंजालीले बताए ।

ताजा समाचार