सिद्ध वनमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना बिरुद्ध स्थानीय आन्दोलित

सुवर्ण प्रशाद जोशी / कञ्चनपुर
कञ्चनपुरको उत्तरी चुरे भेग भीमदत्त नगरपालिका ३ र ७ सीमा क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना बिरुद्ध स्थानीय आन्दोलित भएका छन् । चुरे, धार्मिक क्षेत्र भएकाले बजारभरीको फोहोर गाँउमा ल्याउन नहुने तर्क राखेर भीमदत्त नगरपालिका ७ (दुवै वडा)का स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले यस अघि छनौट भएका स्थानमा पनि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा अवरोध भएको बताउदै आफुहरुले पनि गाँउमा फोहोर ल्याउन नदिने बताएका छन् । स्थानीयले वडाका जनतासंग सल्लाह नै नगरेर सुटुक्ट सिद्ध सामुदायिक वनले सहमती दिएसंगै दुवै वडा मौन बसेकाले वडा कार्यालय बिरुद्ध तालाबन्दी गरेर साँकेतिक आन्दोलन गरेको बताएका छन् ।

आन्दोलन पार्टीगत नभई स्थानीयको जनसरोकारको विषय भएकाले आन्दोलनमा आएको स्थानीय एव नेपाली काँग्रेसका नेता अफिलाल जोशीले बताए । उनले धार्मिक पवित्र स्थलमा नगरपालिकाले जबरजस्त फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण जनताको भावना विपरित काम गरिरहेको आरोप लगाए । अर्का स्थानीय रतन बहादुर सिहले जनतासंग सल्लाह नै नगरेर एक्कासी गाँउमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न लाग्दा स्थानीय बिरोधमा उत्रिएको बताए । सिद्ध सामुदायिक वनका अध्यक्ष रंगी बोहराले सम्भाव्यता अध्ययनका लागि सामुदायिक वनले सहमती मात्रै दिएको बताए । ‘हामीले अहिले नै बनाउन दिएका होईनौँ, ‘उनले भने, ‘सम्भाव्यता अध्ययनका लागि निर्णय गरेका हौँ ।’ तर, भीमदत्त नगरपालिका वन वातावरण विपद व्यवस्थापन समितिले भने सामुदायिक वनले फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन दिने सहमती पत्र बुझाएको जनाएको छ । भीमदत्त नगरपालिका ३ र ७ का दुवै वडाध्यक्षद्वय प्रकास जप्रेल, शंकर कुँवरले जन भावना अनुरुप मात्रै काम गरिने बताएका छन् । भीमदत्त नगरपालिका ३का वडाध्यक्ष राम बहादुर जप्रेलले सर्वदलिय बैठकबाट सबै पार्टीका नेताहरुले फोहोरमैला व्यवस्थापन केन्द निर्माणमा जनप्रतिनिधीले बिरोध नगर्ने भनेको बताए । ‘हामीले बिरोध गर्नु भएन, ‘उनले भने, ‘तर पनि जनता भन्दा बाहिर जाने पक्षमा छैनौँ ।’

भीमदत्त नगरपालिका ७का वडाध्यक्ष शंकर कुँँवरले जनताको भावना अनुसारै काम गर्ने बताए । ‘यहाँका जनताले फोहोरमैला व्यवस्थापन केन्द्र बनाउन सहमती दिन्छन, ठिक छ, दिदैन पनि ठिक छ, हामी जनता भन्दा बाहिर जाँन सक्दैनौँ ।’ जन भावना विपरित निर्णय र कदम समेत नचाल्ने उनले बताए । भीमदत्त नगरपालिका वन , वातावरण विपद व्यवस्थापन समितिका संयोजक प्रेमप्रकास जैसीले राजनीतिकरण हुँदा केन्द्र निर्माणमा अवरोध भईरहेको बताए ।
‘कम्युनिष्टको विकास काँग्रेसले देख्न नसक्ने, काँग्रेसको विकास कम्युनिष्टले देख्न नसक्ने अवस्था भएको छ, ‘उनले भने, ‘यही प्रकृतिका कारण यो फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणमा किचलो भईरहेको छ ।’ जनताले बुझ्न नसकेको बताउदै, बुझेका जनताले अनावश्यक बाँझो हालिरहेको उनले बताए ।

सामुदायिक वनले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि सहमति पत्र दिएको बताउँदै उनले अहिले सर्वेको काम भईरहेको बताए । स्थानीयले सिद्ध सामुदायिक वन क्षेत्रमा फोहोरोमैला व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णय फिर्ता नलिए शसक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । क्षेत्रीय शहरी विकास आयोजना अन्र्तरगत निर्माण हुने एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रबाट स्पष्टसंग नागरिकलाई बुझाउँन नसक्दा छिमेकी मुलुक भारतको दिल्ली लगायतका ठुला शहरमा थुपारिएको अव्यवस्थित फोहोर सम्झेरै स्थानीयले जहिले पनि बिरोध गर्दै आएका छन् । जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकामा फोहोर व्यवस्थापन केन्द्र नहुँदा कहिले कता कहिले कता, यत्रतन्त्र फोहोर व्यवस्थापन गर्न बाध्य भएको छ ।

ताजा समाचार