दैजी औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन मन्त्रालयबाट सदर, भदौमा शिलन्यास हुने

सुदूरपश्चिम प्रदेश गौरबको आयोजनाको रुपमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) मन्त्रालयबाट सदर भएको छ । आइतबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले आइतबार पेश गर्नु भएको वातावरणीय प्रभाव मूल्याङ्कन फाइल वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्वीकृत गर्नुभएको हो ।
साथै आगामी दिनमा औद्योगिक क्षेत्रको काम अघि बढाउन बाटो खुलेको र लामो प्रयास र सम्बन्धित तहको सकारात्मक पक्षले औद्योगिक क्षेत्र आयोजनाको काम अघि बढाउने बाटो खुलेको बेदकोट नगरपालिकाका मेयर चन्दले बताए । गत मंसिरमा मन्त्रालयमा वन तथा वातावरण महाशाखाका प्रमुख यज्ञनीधि दाहालको अध्यक्षतामा बसेको बैठकमा वातावरणीय प्रभाव मूल्याङ्कन फाइल पेश भएको थियो । एक बर्ष पहिला मन्त्री बस्नेतसमक्ष कार्यसूची र सन्दर्भका सर्तहरु (टोर) स्वीकृत भएको हो ।
त्यसपश्चात बेदकोट नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम गरेर सार्वजनिक सुनुवाईको प्रतिवेदन ग्रीस कन्सल्टेन्सीमा बुझाइएको र उक्त कन्सल्टेन्सी मार्फत उद्योग मन्त्रालय हुदै वन तथा वातावरण मन्त्रालयमा पेश भएको थियो । गत मंसिरमा मेयर चन्द सहितको बैठकमा केहि हेरफेर गरिएको र पेश भएको उक्त फाइल साउन १४ गते बन मन्त्रालयका सचिव समक्ष पुगेको थियो भने आइतबार मन्त्री बस्नेतले स्वीकृत गरेको हो ।२ सय ९३ बीगा क्षेत्रफलमा रहेको दैजी औद्योगिक क्षेत्र आयोजना आउदो भदौ महिनामा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यस कार्यमा सहयोग गर्ने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका शिर्ष नेता, प्रदेश सरकार तथा अन्य सहयोगीप्रति मेयर चन्दले आभार प्रकट गर्नुका साथ दैजी औद्योगिक क्षेत्र आर्थिक बर्ष २०७७/०७८ को बजेटमा समेत समेटिएको छ ।

ताजा समाचार