सेनाद्वारा बालउद्यान निर्माण

चन्द्रकान्त जोशी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित परखेडीमा बालउद्यान निर्माण भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणको २५ लाख र भीमदत्त नगरपालिकाकाको २० लाखको सहयोगमा वाल उद्यान निर्माण भएको हो ।

“सेनाबाट २५ लाखको सहयोग भए पनि बालउद्यान निर्माणको ठेक्का भने झण्डै २१ लाखमा भएको थियो,” देवीदलका गणपति राजु बस्न्यातले भने, “सेनाको समन्वयमा निर्माण गर्ने भनिएको बालउद्यान लगभग निर्माण भएको अवस्था छ ।” निर्माण भएको बालउद्यानलाई केही दिनमै हस्तान्तरण गर्ने योजना रहेको पनि उनले बताए ।

सरस्वती माध्यमिक विद्यालय परखेडीको विद्यालय व्यवस्थापन समितिले २०७६ साल श्रावणमा नेपाली सेना र भीमदत्त नगरपालिकासँग समन्वय गरेर विद्यालयको एक विगाहा क्षेत्रफलमा विद्यालयको लागि सहयोग स्वरुप बालउद्यान निर्माण गर्ने योजना बनाएको थियो । सेनाले विगतमा पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरुमा समाजिक सहयोगी भूमिका खेल्दै आएको थियो । गणकै विशेष सहयोगमा विद्यालयसँग सहकार्य गरेर बालउद्यान निर्माण गरिएको छ ।

“देवीदल गणको तर्फबाट विगतमा पनि समुदाय क्षेत्रमा स–सानो सहयोग भएको अवस्था थियो,” गणपति बस्न्यातले भने, “स्टेसनरी, खेलकुद, मेडिकल क्याम्प, लगायत अरु क्षेत्रमा सहयोग गरिए पनि बालउद्यान निर्माणमा भने अहिले सम्मकै ठूलो र पहिलो कार्यक्रम हो ।”

उनका अनुसार गएको गणले अहिलेसम्म आफ्नै मेडिकल क्याम्प खडा गरेर समय समयमा झण्डै ५ लाख बराबरको औषधी निःशुल्क वितरण र उत्तिकै सङ्ख्यामा बिरामीको निःशुल्क उपचार पनि गरेको छ । सेनाले बालउद्यान निर्माणमा मात्रै नभएर आँउदा दिनमा मध्यवर्ती क्षेत्रका समुदायसँग सहकार्य र सहयोग बढाउँदै जाने जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds