कृष्णपुरको आगामी आर्थिक वर्षका लागि ८८ करोड बजेट प्रस्ताव

कृष्णपुर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम तथा सातौँ नगर सभा बुधबार बाट शुरु भएको छ । नगर सभामा उप-प्रमुख रमिता राना बडायकद्वारा आर्थिक वर्ष २०७७/०७८ को लागि रु. ८८ करोड १३ लाख ८४ हजार २ सय ४० बराबरको आय-व्यय प्रस्ताव पेश गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीले शुभकामना मन्तव्य राख्दै कोरोनाको रोकथाम तथा नियन्त्रणमा कृष्णपुर नगरपालिकाले सुदूरपश्चिममैँ नमुना काम गरेको बताए । उनले भने “यस कार्यले कृष्णपुरका जनप्रतिनिधि र जनताले सराहनीय कार्य गरेकोमा खुशी छु । यसैगरि उनले नगरले ल्याएको आगामी वर्षको बजेट निकै उत्कृष्ट भएको बताए ।

यसैगरि नगरप्रमुख कर्ण बहादुर हमालले स्पष्ट कार्यनीति र समन्वयात्मक कार्यशैलीले नगरलाई आगामी दिनमा उत्कृष्ट नगरको पहिचान दिलाउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले भने “अल्पकालीन र दीर्घकालीन योजना बनाएर नगरको समृद्धिको लागि क्रमागत रुपमा अगाडि बढ्छौँ ।” यसैगरि उनले कृषि र रोजगारलाई पहिलो प्राथमिकतामा राखेको बताए । त्यस्तै उप-प्रमुख रानाले कोरोना भाइरसको संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको नीति अनुरुप नगरले लिएको स्पष्ट कार्यनीति, समन्वयात्मक कार्यशैली एवं सबै नगरबासीहरुको पारस्परिक एकता, धैर्यता र सहयोगले अहिलेसम्म रोगको संक्रमणबाट नगरबासीहरुको जीवनरक्षा गर्न सफल भएको बताइन् ।

यस्तै महामारीबाट नागरिकलाई सुरक्षित राख्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक रहेकोले एकढिक्का भएर दृढताका साथ लाग्न सबैमा आह्वान गरेकी थिइन् । यस आ.व. २०७७/०७८ मा नगरको कृषि तथा पशुपंक्षी शीर्षक अन्तर्गत कृषिलाई निर्वाहमुखीबाट रोजगारमुखी बनाउन ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिइने भएको छ । ‘मेयर कृषि कार्यक्रम’ को निरन्तरता, व्यावसायिक पशुपालन र तरकारी खेती मार्फत गरिबी निवारणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ भने टोल फ्री नम्बरको स्थापना गरि ‘हलो किसान कार्यक्रम’ सञ्चालन गर्न बजेट छुट्याइएको छ ।

त्यसैगरि खानेपानी तथा सरसफाई अन्तर्गत फोहोरमैला व्यवस्थापनमा संलग्न जनशक्तिको उत्प्रेरणा बढाउनमा जोड दिई फोहोरमैला व्यवस्थापनमा उचित मापदण्ड अपनाई दण्ड र जरिवानालाई प्रभावकारी बनाई ‘फोहोरलाई मोहरमा’ परिणत गर्ने नीति समेत अवलम्बन गरेको छ । त्यसैगरि वित्तीय क्षेत्र अन्तर्गत लघुवित्त संस्थाहरुलाई नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न स्वीकृति लिने र प्रत्येक क्रियाकलापहरु नगरपालिकाको पूर्व स्वीकृति लिएर मात्रै सञ्चालन गर्ने कार्यको थालनी गरि नियमन गर्ने नीतिमा समावेश गरेको छ ।

त्यसैगरि कार्यपालिका सदस्य आशाराम चौधरीले आ.व. २०७७/७८ को सेवा र कार्यहरुको लागि स्थानिय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरेका थिए । त्यस्तै नगरले नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम १६ वटा ऐनलाई संशोधनसहित पास गरेको छ । नगर प्रमुख कर्ण बहादुर हमालको सभापतित्वमा सम्पन्न भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार