कोरोना प्रभावित नआउन भन्दै धारामा छोडेको करेन्ट लागेर डोटीमा महिलाको ज्यान गयो

 

धारामा कोरोना प्रभावित आउने र कोरोना सर्ने डरले करेन्ट छोड्दा डोटीको आदर्श गाउँपालिका वडा नं. ७ मा महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

कोरोना प्रभावित व्यक्तिहरु धारामा नुहाउन आउने भन्दै स्थानीयले पानी ट्यांकीमा छोडेको करेन्ट लागेर आदर्श वडा नं. ७ नवाघरकी मानबहादुर बाघकी २६ वर्षिय श्रीमती तुल्सी थापा बाघको धारामा नुहाउन जाँदा करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँका स्थानीय युवा १९ वर्षिय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीयले बताएका छन् ।
गाउँको सार्वजनिक धारामा भारतबाट आएका कोरोनाको संक्रमीत भएका व्यक्ति पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन ।

करेन्ट छोड्ने किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्र मल्लले बताए ।
घरबाट बिजुलीको तार र धाराको ग्याबिन जालीको तार जोडेर धारामा समेत करेन्ट प्रवाह भएको थियो ।
मृतक महिला स्थानीय विद्यालयमा बाल बिकास सहयोगी कार्यकर्ता पनि रहेको जनाईएको छ ।

ताजा समाचार

This will close in 10 seconds