महाकाली अस्पतालका कोरोना संक्रमितको गुनासोः डाक्टर देखेका छैनौँ, नर्सहरुले फोनबाटै सोध्छन् सन्चो/बिसन्चो ?

महेन्द्रनगर ३२ जेठ ।
विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण बढ्दो छ । यस विषम परिस्थीतिमा संक्रमणको उच्च जोखिम मोलेर स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी तथा चिकित्सकको चौतर्फी प्रसंशा भईरहेको छ ।


चिकित्सक एंव स्वास्थ्यकर्मीले संक्रमणको उच्च जोखिम मोलेरै कार्य क्षेत्रमा खटिएका छन् । तर महाकाली उप–प्रादेशिक अस्पतालको आईशोलेसनमा रहेका कोरोना संक्रमितले भने आफुले अस्पतालबाट राम्रो हेरचाह नपाएको गुनासो गरेका छन् ।


महाकाली अस्पतालमा रहेका एक कोरोना संक्रमितले अस्पतालमा आफुहरु रहेको वार्डमा स्वास्थ्यकर्मी समेत नआएको बताए ।
उनले आफु आईशोलेसन बसेको ६ दिन भईसकेको बताउँदै शनिबार साझ देशपाटीसँग भने ‘आज ६ भयो, अस्पताल भर्ना भएको अहिलेसम्म डाक्टरको मुख देखेका छैनौँ ।’ ‘नर्सहरुले बिहानै फोन गर्नुहुन्छ, फोनबाट सन्चो, बिसन्चो सोध्नु हुन्छ, वार्डमा भने आउनु हुन्न’ उनले अगाडी थपे ।
साथै कुनै सामान्य लक्षण (टाउको दुखेको, जीउ देखेको लगायतका) रहेको बताएपनि गर्मी र चिन्ताले भनेको होला भन्दैँ नर्सहरुले सल्लाह दिने गरेको उनको आरोप छ ।


त्यस्तै अर्का कोरोना संक्रमितले पनि स्वास्थकर्मीहरु वार्ड नछिर्ने गरेको बताए । साथै संक्रमित राखेका वार्डहरु पनि व्यवस्थीत नभएको उनको गुनासो छ ।
साथै संक्रमितको अवस्था जटिल भएमा सोहि व्यवस्थापनमा उपचार गर्न समस्या हुने उनले बताए । कोरोना संक्रमितले आफुहरुलाई नियमित निगरानीमा राखे कोरोना भाईरसको संक्रमणलाई जित्न उच्च मनोबल मिल्ने अपेक्षा गरेका छन् ।


त्यस्तै महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने कोरोना संक्रमितको उपचारका लागि तीन सिफ्टमा स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको बताए ।

उनका अनुसार संक्रमितको असामान्य अवस्था बाहेक चिकित्सकले हप्तादिन र नर्सहरुबाट नियमित निगरानी गर्ने व्यवस्था मिलाईएको छ ।
अस्पतालले नर्सहरुबाट नियमित संक्रमितलाई निगरानिमा राखेको भएपनि आईशोलेसनका संक्रमितले सोहि अनुसारको सेवा नपाएको गुनासो गरेका छन् ।


‘संक्रमित सबै अस्पतालको निगरानीमा रहेका हुन्छन्’ अध्यक्ष जोशीले भने ‘संक्रमितको स्वास्थ्य अवस्थामा कुनै गम्भीर समस्या देखिए चिकित्सक २४ घण्टा नै उपलब्ध हुनुहन्छ, अन्य समयका लागि पनि स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।’


अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २१ जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ ।
हाल महाकाली अस्पतालमा ३५ जना कोरोना संक्रमितलाई राखिएको छ । ४ जना मात्रै आईतबार १४ दिनपछि डिस्चार्ज भएका छन् ।

ताजा समाचार

This will close in 10 seconds