नेपाल भित्रियो मनसुन, देशभर फैलिन करिब एक हप्ता लाग्ने

३२ जेठ, काठमाडौं । नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।

पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । मौसमविद समिर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’

सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको छ ।

गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।

मनसुनमा सरदर वर्षा हुने

सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा शनिबार पनि पानी परेको थियो । त्यहाँ आइतबार पनि बदलीको अवस्था छ । पूर्वी भूभागमा पनि अधिकांश स्थानमा बदली रहेको मौसमविद श्रेष्ठले बताए ।

यस वर्षको मनसुनमा नेपालमा सरदर पानी पर्ने मौसमविद श्रेष्ठ बताउँछन् । सामान्यतया सरदर वर्षा भन्नाले कुनै स्थान विशेषको लामो समय अर्थात् ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ ।

सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

बंगालको खाडीमा विकसित अंपुन चक्रवातका कारण नेपालमा मनसुन करिब एक हप्ता ढिलो भित्रिने अनुमान यसअघि मौसमविदले गरेका थिए । तर लगत्तै अरब सागरमा अर्को चक्रवात निसर्ग विकसित भएपछि भने नेपालमा मनसुन समयमै भित्रिनेमा मौसमविद विश्वस्त थिए ।

ताजा समाचार

This will close in 10 seconds