सिंगो देश एकजुट भएको छ, अब भारतसँग वार्ता हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादका विषयमा भारतसँग वार्ता अघि बढ्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विकेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताएका हुन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन विधेयक संघीय संसदबाट पास भएपछि वार्ताको कामलाई अगाडि बढाइने प्रधानमन्त्रीले प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै भारतसँग वार्ता गर्ने बताएका हुन् । ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो ।

विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ,’ उनले भने ।

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘अब छिट्टै वार्ता हुनेछ ।’

प्रधानमन्त्रीले थपे, ’अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो ।

त्यसपछि ९ गते संविधान संशोधन विधेयक संघीय संसदमा दर्ता गरेको थियो । नेपालको निसान छापभित्र रहेको नक्सालाई अध्यावधिक नक्साअनुसार बनाउनका लागि सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । जुन सर्वसम्मतिले प्रतिनिधिसभाबाट पारित भएको छ ।

ताजा समाचार

This will close in 10 seconds