काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
उनी तीन दिन अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
‘राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर आएका छौं ।’
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् । दिउँसो भेटघाट र छलफलमा बिताउँछन् । महराका ज्वाइँ पूर्ण केसीले भने, ‘उहाँ पहिलेदेखि नै कडा परिश्रम गर्ने मान्छे हो, अहिले पनि उस्तै काम गर्नु हुन्छ । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उनलाई जेठो छोरा एटमले सघाउने गरेको केसी बताउँछन् ।
महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । ती सम्पति पनि आफूले भोगचलन नगरी स्थानीय सहकारीलाई दिएको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् । ती सम्पति सहकारीले फेरि महरालाई नै भोगचलन गर्न दिएको हो कि के हो भन्नेचाहिँ खुलेको छैन ।
यद्यपि महराका ज्वाइँसमेत रहेका रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भने, धेरैजसो जग्गा रोल्पा पोलिटेक्निक कलेजलाई निःशुल्क दान गरेर थोरै पाखो बारी बाँकी राखेको र त्यसैमा महराले खनजोत गरिरहेको बताए ।
सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषिकर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएको मेयर केसीले बताए । ‘कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको बेला कृषि उत्पादनलाई बढाउन गरिने गतिविधिलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने ।
सभामुख पदमा रहेकै बेला एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् ।
यो प्रकरणपछि महरा धेरैजसो समय आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ र आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाटका लागि गइरहन्छन् । पछिल्लो पटक करिब एक साताअघि स्वास्थ्य सामग्रीहरु लिएर महरा दाङ गएका थिए । दाङबाट उनी तीन दिन अगाडि रोल्पा पुगेका हुन् । -अनलाईन खबर
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)