डिल्लीराज पन्त
कञ्चनपुर ऐरीका किसान ईश्वर दत्त जोशीले कुखुरा, बस्तुभाउको आहाराका लागि नयाँ प्रविधिबाट ‘अजोला’ घाँसखेती गरेका छन । भीमदत्त नगरपालिका १२ऐरीका किसान जोशीले आफ्नै जमिनमा ‘बस्तुभाउ, कुखुराका लागि ‘अजोला’ घाँसखेती गरेका हुन ।


गाईपालनमा लागेका उनले आहारा अभावका कारण गाईपालन हटाएर अहिले विभिन्न प्रजातिका लोकल, बोईलर कुखुरा पालन गरेका छन । जोशीले समान्य पोखरी निर्माण गरेर कुखुरा बस्तुभाउको आहाराका लागि घाँसखेती गरेका हुन । ‘मैले यूटुब हेरेर यो घाँसको बेर्ना दिल्ली र काठमाण्डौँबाट ल्याएको हुँ, ‘उनले भने, ‘बिउ महङगो छ, तर पछि लगाउन सके राम्रो पनि छ ।’ प्रतिकिलो १५सयका दरले बिउ ल्याएर घरमै पानीमा खेती गरेको उनले बताए ।


‘सात दिनमै दोब्बर घाँस फल्छ, ‘उनले भने, ‘यो भएपछि किसानलाई आहारा र दानाको अभाव कम हुन्छ ।’ प्रोटिन पाईने भएकाले घाँस उपयुक्त हुने उनले बताए । ‘मैले यस घाँसको बारेमा कृषि कार्यालयमा जाँदा समेत कुनै विशेषता बताईदिएन, ‘उनले भने, ‘केही मान्छे खोर देखाएर, घाँस देखाएर अनुदान लिन्छन, हामी किसानको कामको मुल्याङ्कन हुने भएन् ।’ कुनै पनि निकायबाट आफुलाई सहयोग नपाईएको उनको दुखेसो छ ।







