पुनर्वास

बैतडीमा बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको न्यायका लागि पुनर्वासमा पनि बिधार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । देशैभरका बिद्यार्थी लगायत विभिन्न संघ संगठनहरुले हत्यारा चाँडै पक्राउ गरि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै सरकार विरुद्ध नाराबाजी गरिरहँदा बिहिबार पुनर्वास बिधार्थी सञ्जालले पनि कालो पट्टि सहित बिरोध प्रदर्शन गरेका हुन् । पुनर्वासको प्रतिभानगर बजारबाट सुरु गरिएको बिरोध ¥याली प्रदर्शन नाराबाजी सहित पुनर्वास–५ भानुबस्ती, आई.बी.आर.डी. बजार हुँदै नगरपालिका कार्यालय गेटमा पुगि टङ्गिएको थियो ।

सो विरोध कार्यक्रमका माझ पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाले पनि हत्याराको तत्काल खोजी गरि कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए । कडा सुरक्षा रहेको बिरोध कार्यक्रममा पुनर्वासका ५ सामुदायिक बिद्यालयका करिब एक हजार भन्दा बढि बिद्यार्थीहरुको सहभागिता देखिएको थियो । उनीहरुले नाराबाजी गर्दै बलात्कारीलाई फाँसी दे ,महिला हिँसा अन्त्य गर ,महिला हिंसा बन्द गर ,हत्यारालाई तत्काल पक्राऊ गर ,भागरथीलाई न्याय दे ,निर्मलालाई न्याय दे , नालायक सरकार राजिनामा दे ,महिला सुरक्षाको ग्यारेन्टी गर जस्ता दई दर्जन नाराहरु प्रस्तुत गरेका थिए । विरोध कार्यक्रममा पुनर्वास बिधार्थी सञ्जालका सह–संयोजक नरेश थापाले कञ्चनपुरकी निर्मला पन्तको पनि बलात्कार पछि हत्या भएको अढाई वर्ष सम्म पनि हत्यारा पत्ता लगाउन नसकेको सरकारले अझै भागरथीको हत्यारा पनि लुकाउने पो हो की भन्ने चिन्ता लागेकोे बताए ।

बारम्बार एक पछि अर्को बलात्कार गरि हत्याका घटनाहरु बढ्दै जाँदा अपराधी नियन्त्रणमा सरकार लाचार रहेको भन्दै पुनर्वासका बिधार्थीहरुले बृहत बिरोध कार्यक्रम गरेको बिधार्थी सञ्जालका संयोजक रुपेश बिश्वकर्माले बताए । उनले यस घटनामा संलग्न दोषीहरुको तत्काल खोजी नभए अझै बृहत बिरोध कार्यक्रममा जाने संयोजक बिश्वकर्माले जानकारी दिए । बिद्यालयबाट घर फर्किदै गरेको अवस्थामा बाटामै पर्ने लवलेक सामुदायिक बनमा बलात्कार पछि हत्या गरि फालिएको अवस्थामा दास्रो दिन भागरथीको शव फेला परेको थियो । शव भेटिएको एक साता बितिसक्दा पनि प्रहरीले बलात्कारी पत्ता लगाउन नसकेपछि अहिले देशभर भागरथीको न्यायका लागि सरकार विरुद्ध प्रदर्शन भईरहेको देखिन्छ ।






