ट्राफिक प्रहरीको असुली धन्दाका लागि दोंदा केन्द्रित चेकिङ्ग, कति असुल्छन् त रकम ?

पुनर्वास

कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयमा आउने सबै ट्राफिक प्रहरीको चेकिङ्ग प्रायः दोदा पूल केन्द्रित हुने गरेको छ । पछिल्लो समय अस्थायी ट्राफिक प्रहरी पोष्ट पुनर्वासमा प्रमुखको रुपमा आएका असई रमेश भट्टको पनि सवारी चेकिङ्ग पुरानै शैलीमा दोंदापुल मात्रै केन्द्रित बनेको छ । पुनर्वासमा ट्राफिक प्रहरीको चेकिङ्ग एकै ठाँउमा भएपछि अन्य स्थानतिर भने बिना हेल्मेट तीन जना भन्दा बढि सवार, ट्रेक्टरमा तीन ट्रालीसम्म जडान गी उच्च गतिमा निर्धक्क कुदिरहेका देखिन्छन् ।

– सवारी साधनबाट कति असुल्छन त मासिक ?

पुनर्वास नगरपालिकामा रहेको डोकेबजार ट्राफिक प्रहरीले ईटा, ढुङ्गा, बालुवा लगायतका अन्य सामग्री ढुवानी गर्ने ट्रेक्टरहरुबाट मासिक एक हजारदेखि पन्ध्र सय लिने गरेको तथ्य पत्ता लागेको हो । ट्राफिकलाई मासिक रकम तिर्ने सवारी चालकहरुले नाम नबताउने शर्तमा  पत्रकार हरिलाल जोशीलाई बताए । त्यस्तैे नाम उल्लेख नगरिदिने शर्तमा पुनर्वासका एक ईटा उद्योग सञ्चालकले बिना अवरोध आफ्नो उद्योगका ढुवानीका साधन सञ्चालन गर्न ट्राफिक प्रहरीलाई मासिक रुपमा चारदेखि पाँच हजार रकम दिँदै आएकोे बताए । उनले आफु जस्तै थुप्रै ईटा व्यवसायीहरुले मासिक रुपमा रकम ट्राफिक प्रहरीलाई दिने गरेको जानकारी दिए ।

– नियम विपरीत चल्छन सवारी साधन ?

पुनर्वासमा अधिकांश सवारी साधनहरु ट्राफिक नियम मिचेर चल्ने गरेका छन् । ट्रेक्टरमा ओभर लोड, दुई वा सो भन्दा बढि चार पाङ्ग्रे ट्राली जडान र मोटरसाईकलमा बिना हेल्मेट तीन जना भन्दा बढि सवार गरी खुलेयाम चल्दा पनि प्रहरीले कुनै वास्ता नगर्ने गरेको पुनर्वास–६ का एक व्यवसायी रमेश विश्वकर्माको आरोप छ । उनले बजार क्षेत्रमा उच्च गतिमा ट्रेक्टर, मोटरसाईकल, अटो लगायतका सवारी साधनहरु चल्दा दुर्घटनाको उच्च सम्भावना रहेको बताए । “बाटोमा माटो, बालुवा, ईटा तथा ढङ्गा बोकेर चल्ने ट्रेक्टर, टिप्परहरुमा त्रिपालको प्रयोग नगर्दा मोटरसाईकलमा हिड्नेलाई दुर्घटनाको जोखिम छ ।” उनले भने “ तर ती नियम मिच्ने सवारीलाई कार्वाही गर्न ट्राफिक प्रहरी अघि सर्दैन ।” त्यस्तै पनि नेपालमा मोटरसाईकलको मूल्य उच्च हुँदा पुनर्वासमा प्रायः भारतबाट चोरी गरी नेपाल भित्रिएका मोटरसाईकल एकदमै चल्ने गरेको तर यसमा नियन्त्रण गर्ने निकाय भने मौन रहेको नेकपा पुनर्वासका युवा नेता मानबहादुर रोकायाले बताए ।

– के भन्छन् त ट्राफिक प्रहरी ?

विभिन्न आर्थिक आरोप प्रत्यारोपका विषयमा अस्थायी ट्राफिक प्रहरी पोष्ट पुनर्वासका प्रमुख रमेश भट्टसँग कुरा गर्दा उनले कुनै व्यवसायीबाट नियम विपरीत रकम नलिएको बताए । “किसानका खेतबाट बोकिने उखुका ट्रालीमा भने केहि सहुलियत गरेकै हौ ” असई भट्टले भने “अन्य सवारी साधनलाई भने नियमानुसार जरिवाना गरेका छौ ।” उनका अनुसार आफुसँग तीन जना ट्राफिक मात्रै भएको र सबै स्थानमा चेकिङ्ग गर्न सम्भव नभएको तर हप्तामा थप प्रहरी जनशक्ति सहित अन्य स्थानहरुमा पनि चेकिङ्ग गर्ने गरेको बताए । दोंदा केन्द्रित ट्राफिक चेकिङ्गले कञ्चनपुरको पुनर्वासमा दिनप्रतिदिन ट्राफिक ब्यबस्थापनमा समस्या बढ्दै गएको छ । तर नियमन गर्नु पर्ने निकाय ट्राफिक प्रहरी भने आफ्नो कैफियत स्वीकार्न तयार देखिदैनन् । नागरिकको जीऊधनको गम्भीरतालाई ऐन कानून मिचेर ब्यबहारिकताको रङ्ग नदिन ट्राफिक प्रहरीलाई आम पुनर्वासीले अनुरोध गरेका छन् ।

ताजा समाचार