कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी(नेकपा)का युवा नेता प्रकास जप्रेलले सुदूरपश्चिम प्रदेश सरकारलाई सात बुदे जनअपेक्षा पत्र बुझाएका छन । नेकपा केन्द्रीय सदस्य प्रकास जप्रेलले मुख्यमन्त्री खगराज भट्टलाई सात बुदे जनअपेक्षा पत्र बुझाएको हो । प्रदेशभरिका प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न, नमुना, निःशुल्क तथा गुणस्तरीय आधारभूत प्राविधिक शिक्षासहितका माध्यमिक विद्यालय निर्माण गर्ने नीति लिइयोस, प्रदेशका दुईवटा प्रादेशिक अस्पताललाई उच्चस्तरीय सेवा–सुविधासहित विकास गरी सबै नागरिकलाई छिटो, सहज र गुणस्तरीय उपचारका लागि आवश्यक जनशक्ति तथा प्रविधिको व्यवस्था सुनिश्चित गरियोस, प्रदेशको नीति तथा कार्यक्रम उत्पादनमूलक र रोजगारी मूलक क्षेत्रमा केन्द्रित गरी बजेट विनियोजन गरियोस्, जसले प्रदेशको आफ्नै आयस्रोत निर्माण गर्न सकोस्, मानवतावादी तथा शिक्षावादी राजा जयपृथ्वीबहादुर सिंहको सम्झनामा प्रदेशमा पुस्तकालय स्थापना गरी इतिहास, राजनीति र संस्कृतिको अध्ययन गर्ने व्यवस्था गरियोस्।

साथै, जनयुद्धका महान् सहिद विनय र सुन्दरको सम्झनामा बझाङमा संग्रहालय स्थापना गरियोस, सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरण गर्ने संरचना निर्माण गरी डडेल्धुरामा सयौँ रोजगारी सिर्जना गर्ने कृषि उद्योग स्थापना गरियोस, सुदूरपश्चिम प्रदेशमा रहेका दुईवटा विश्वविद्यालयलाई यहाँको जीवन र जगत्सम्बन्धी अनुसन्धान गर्ने केन्द्रका रूपमा विकास गर्न आवश्यक सहकार्य प्रदेश सरकारले गरोस, औषधिजन्य वस्तुका रूपमा अत्यन्तै महत्त्वपूर्ण गाँजाखेतीलाई वैधानिकता दिई यसको आवश्यकता र उपयोगिताका आधारमा उत्पादन प्रवद्र्धन तथा औद्योगिकीकरण गर्ने नीति बनाई यसलाई कानुनी रूपमा व्यवस्थित गर्नुपर्छ। साथै, गाँजा खेतीलाई सुदूरपश्चिमका जनताको आयस्रोतको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्छ । ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारले सक्ने सबै काम अघि बढाउने बचन दिएका छन ।











