कञ्चनपुर

कोभिड प्रभावित तथा विदेशमा रोजगारी गुमाएका स्थानीयहरुलाई च्याउ खेती मार्फत आत्म निर्भर गर्ने उद्देश्यले च्याउ उत्पादन सहयोगी सामग्री वितरण भएपछि स्थानीयहरु खुसी भएका छन् । परम्परागत रुपमा च्याउ खेती गर्दै आएका कोभिड प्रभावित ३६ च्याउ उत्पादक किसानहरुलाई कोभिड प्रतिकार्य अन्तर्गत च्याउ उत्पादनमा उपयोगी हुने परालको बल बनाउने बलर मेशिन तथा स्टिमर मेशिन हस्तान्तरण गरिएसँगै च्याउ किर्षक हर्षित भएका हुन् ।लामो समयको लकडाउन तथा विदेशमा रोजगारी गुमाएका तथा आफ्नो क्षेत्रमै केही गरौँ भन्ने भावना लिएका च्याउ खेती तर्फ आकर्षित घर परिवारलाई लक्षित गरि मेशिन प्रदान गरिएको छ ।

किसान प्र्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । ती मेशिनहरुको सदुपयोगले समयको बचत गराउनुका साथै उत्पादकत्वमा बृद्धि हुने भएको छ । स्थानीय किसान दिपक सिंहले प्रविधि सहयोगका लागि नगरपालिका तथा सौजन्य संस्थाहरुलाई बिशेष धन्यवाद दिदैँ राज्य तथा सरोकारबाला निकायहरुको सहयोगले काम गर्न हौसला थपिएको बताउनु भयो । यू यान डि पी तथा निड्स नेपाल सँगको सहकार्य तथा समन्वयमा नगरपालिकाले ६ लाख ३० हजार लागतका ती मेशिन किसानहरुलाई उपलब्ध गराएको हो । उक्त प्रविधिको प्रयोग सँगै च्याउले व्यावसायीकता पाउँने तथा धेरैले स्वरोजगार हुने मौका पाउने विश्वास लिईएको छ ।सहयोगी संस्था निड्स नेपालकी अध्यक्ष अञ्जु भट्टले कोभिड प्रभावितको आर्यआर्जन बढाउन तथा च्याउ उत्पादकहरुलाई सहज सरल रुपमा काम गर्न मिलोस भन्ने उद्देश्य लिएको बताईन् ।

उक्त मेसिन हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले परम्पराग तरिकाले कृषि गरेर मात्रै अबको समयमा आर्थिक समृद्धि हासिल गर्न नसिकिने भएकाले व्यावसायीकतामा जोड दिएको उल्लेख गरे । नगरपालिकाले अन्य क्षेत्रमा पनि विभिन्न समयमा यस्ता कृषि औजार तथा सिपमूलक कार्यक्रमहरुमा सहयोग तथा समन्वय गर्दै आएको छ । जसले गर्दा किसानहरुलाई समयको बचत हुनुका साथै न्यून लगानी, कम जन शक्तिमा पनि विभिन्न व्यावसायीक गतिविधि गर्दै आत्मनिर्भर हुन सहयोग गरेको छ ।






