कञ्चनपुरमा धान बेच्ने किसानको भीड, खरिद कोटा बढाउन माग


डिल्लीराज पन्त/महेन्द्रनगर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरमा धान बिक्री गर्न आउने किसानको भीड लागेको छ। धान बिक्रीका लागि किसानको चाप बढेपछि भीड व्यवस्थापन गर्न कार्यालयलाई हम्मेहम्मे परेको छ। अवस्था नियन्त्रण तथा व्यवस्थापनका लागि प्रहरी निरीक्षककै कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ।

कम्पनीले निर्धारण गरेको सीमित खरिद कोटाका कारण टोकन पाउन नसकेका किसान धान बिक्री नगरी घर फर्किन बाध्य भएका छन्। धान बिक्री गर्न आएका किसानले खरिद कोटा बढाउन माग गरेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रमोद न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा कञ्चनपुर जिल्लाका लागि ८ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएको छ। एक जना किसानले अधिकतम ३० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ।

कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो। सीमित खरिद कोटा र धान बिक्री गर्न आउने किसानको संख्या बढ्दै गएपछि धेरै किसानले आफ्नो उत्पादन सरकारी मूल्यमा बिक्री गर्न नपाउने अवस्था देखिएको छ। किसानहरूले जिल्लाको उत्पादन र किसानको चापलाई मध्यनजर गर्दै धान खरिदको कोटा वृद्धि गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img