बहिरा विद्यार्थीको सिकाइ सुधार्न २४ विद्यालयका शिक्षकलाई विशेष तालिम सम्पन्न


हेमा भट्ट/ धनगढी-बहिरा तथा सुस्तश्रवण विद्यार्थीलाई शिक्षाको मूलधारमा समान अवसर, सम्मान र अधिकारसहित सहभागी गराउँदै उनीहरूको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका २४ विद्यालयका स्रोत कक्षा शिक्षकलाई प्रदान गरिएको पाँचदिने विशेष तालिम सम्पन्न भएको छ।

विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग परियोजना (TECSES) नेपालअन्तर्गत शिक्षा तालिम केन्द्र, दिपायल, डोटीको आयोजनामा कार्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको समावेशी शिक्षा सम्बन्धी विशेष तालिम आइतबार सम्पन्न भएको हो। तालिममा बहिरा तथा सुस्तश्रवण विद्यार्थी अध्ययनरत दुवै प्रदेशका २४ विद्यालयका स्रोत कक्षा शिक्षकहरूको सहभागिता रहेको थियो।

तालिमको समापन समारोह सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा निर्देशक (उपसचिव) जयदेव महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता देवेन्द्र तिमिल्सिनाले गर्नुभएको थियो। कार्यक्रममा TECSES नेपालका सुदूरपश्चिम प्रदेश संयोजक रामदास चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

समापन समारोहमा प्रमुख अतिथि महराले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महराले समावेशी शिक्षा नीतिगत व्यवस्था र औपचारिकतामा मात्र सीमित नभई विद्यालयको कक्षाकोठामा व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताउनुभयो। अपाङ्गता भएका बालबालिकाले पनि अन्य विद्यार्थीसरह समान अवसर, सम्मान र अधिकारको अनुभूति गर्न पाउनुपर्ने उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई शिक्षण अभ्यासमा उतार्न शिक्षकहरूलाई आग्रह गर्नुभयो।

उहाँले प्रदेश सरकार समावेशी शिक्षाको विकास र शिक्षकको क्षमता अभिवृद्धिका लागि सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग, सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षकको सक्रियता, विद्यालयको सहयोग र राज्यको जिम्मेवारी एकसाथ अघि बढेमा मात्रै गुणस्तरीय तथा अधिकारमा आधारित शिक्षा सुनिश्चित गर्न सकिने उहाँको भनाइ थियो।

विद्यार्थीको व्यक्तिगत अवस्था, सञ्चार क्षमता, रुचि र सिकाइस्तर पहिचान गरी सोहीअनुसार शिक्षण विधि अपनाउनुपर्नेमा जोड दिँदै उहाँले तालिमको उपलब्धि विद्यार्थीको व्यवहारिक सिकाइमा देखिनुपर्ने बताउनुभयो।

त्यसैगरी विशिष्ट अतिथि तथा TECSES नेपालका सुदूरपश्चिम प्रदेश संयोजक रामदास चौधरीले तालिम सफल बनाउन योगदान पुर्‍याउने आयोजक, प्रशिक्षक, सहभागी शिक्षक तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले समावेशी शिक्षाको वास्तविक सफलता तालिममा सिकेका विषयवस्तु विद्यालयमा कार्यान्वयन भएपछि मात्र प्राप्त हुने बताउँदै शिक्षकहरूलाई जिम्मेवार, संवेदनशील र सिर्जनशील भएर काम गर्न शुभकामना दिनुभयो।

बहिरा तथा सुस्तश्रवण विद्यार्थीको सिकाइ सुधारका लागि शिक्षकको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले विद्यार्थीको आवश्यकता बुझ्ने, उनीहरूसँग प्रभावकारी सञ्चार गर्ने र सिकाइमा समान सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।

तालिमका प्रशिक्षक विजय तामाङले पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षण उपलब्धिमूलक, सहभागितामूलक र व्यावहारिक रहेको बताउनुभयो। उहाँले सैद्धान्तिक ज्ञानसँगै अभ्यास, सामूहिक छलफल, प्रस्तुतीकरण, अन्तरक्रिया तथा मनोरञ्जनात्मक गतिविधिमार्फत सिकाइलाई सहज, रोचक र प्रभावकारी बनाइएको जानकारी दिनुभयो।

प्रशिक्षक तामाङले सहभागी शिक्षकहरूको सक्रियता, जिज्ञासा, अनुभव आदानप्रदान र सिक्ने उत्साहले तालिमलाई थप जीवन्त बनाएको उल्लेख गर्दै तालिममा प्राप्त ज्ञानलाई विद्यालयमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले शिक्षकहरूले विद्यार्थीको अवस्था र क्षमताअनुसार शिक्षण विधि परिमार्जन गर्न सकेमा उनीहरूको सिकाइमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।

पाँचदिने तालिममा स्रोत कक्षा शिक्षकको भूमिका, बहिरा तथा सुस्तश्रवण विद्यार्थीको व्यक्तिगत आवश्यकता पहिचान, साङ्केतिक भाषाको प्रयोग, सञ्चार सीप, समावेशी शिक्षण विधि, व्यक्तिगत शिक्षा योजना (IEP), वैयक्तिक शिक्षा तथा सिकाइ योजना (IELP) र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गरिएको थियो।

तालिमको मुख्य उद्देश्य विद्यार्थीलाई कक्षाकोठामा उपस्थित गराउनु मात्र नभई उनीहरूले बुझ्ने भाषा र सञ्चार माध्यमबाट सिक्न, आफ्ना विचार व्यक्त गर्न तथा अन्य विद्यार्थीसँग समान रूपमा सहभागी हुन सक्ने वातावरण निर्माण गर्नु रहेको थियो।

यस क्रममा शिक्षकले विद्यार्थीको सुनाइसम्बन्धी अवस्था, सञ्चार क्षमता, सिकाइस्तर, रुचि र व्यक्तिगत आवश्यकताअनुसार शिक्षण विधि परिवर्तन गर्नुपर्ने विषयमा जोड दिइएको थियो। साङ्केतिक भाषा, दृश्य संकेत, चित्र, क्याप्सनसहितका भिडियो, उपयुक्त बसाइ व्यवस्थापन र आवश्यक श्रवण सहायक उपकरणको उपलब्धतालाई समावेशी शिक्षाका महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको थियो।

त्यस्तै, विद्यालयका शौचालय तथा सार्वजनिक स्थानमा आपत्कालीन अवस्थामा सहयोग माग्न सकिने घण्टीसँगै बहिरा व्यक्तिले देख्न सक्ने चम्किने बत्ती वा दृश्य अलार्मको व्यवस्था गर्नुपर्ने आवश्यकतासमेत औँल्याइएको थियो। विद्यालयका सूचना, संकेत चिह्न तथा शिक्षण सामग्री सबै प्रकारका अपाङ्गता भएका विद्यार्थीको पहुँचमा पुग्ने गरी निर्माण र व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो।

नेपालका सामुदायिक विद्यालयमा समावेशी अभ्यासलाई संस्थागत बनाउन पहुँचयुक्तता लेखाजोखा चेकलिस्टको प्रयोग, कक्षाकोठाको वातावरण, शिक्षण सिकाइ सामग्री, सहायक प्रविधि, शिक्षकको क्षमता, विद्यार्थीको सहभागिता, अभिभावकसँगको समन्वय तथा विद्यालयको पहुँचयुक्त संरचनाको मूल्याङ्कन गर्नुपर्ने विषयसमेत तालिममा समेटिएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img