कञ्चनपुर: बेल्डाँडी गाउँपालिकामा भूमि व्यवस्थापन शाखाको उद्घाटन गरिएको छ।

नेपालको संविधानको मर्म र भावनाअनुरूप नागरिकलाई सहज, सरल र छिटो सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले सोमबार, कार्तिक १६ गते एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरेको हो।

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये बेल्डाँडी गाउँपालिका भूमि व्यवस्थापन शाखा स्थापना गर्ने चौथो पालिका तथा कञ्चनपुर जिल्लाको दोस्रो पालिका बनेको जनाइएको छ। त्यस्तै, देशभरका ७५३ स्थानीय तहमध्ये ३३ स्थानीय तहमा मात्र यस्तो शाखा स्थापना भएको बताइएको छ।

शाखा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, उपाध्यक्ष शान्ति नाथ, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि.क., प्रवक्ता गजबहादुर विष्टलगायत वडा नं. ३ र ५ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, इन्द्र बहादुर खड्का, कार्यपालिका सदस्य जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, भूमि प्रशासन कार्यालय बेलौरीका प्रमुख नरेन्द्रसिंह ठगुन्ना, कुशलमंगल भाट, टंक अवस्थी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भूमि व्यवस्थापन शाखा स्थापना हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसबाट नागरिकले आफ्नै पालिकाबाट भूमि व्यवस्थापनसम्बन्धी सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे। उनले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने गाउँपालिकाको उद्देश्य रहेको उल्लेख गरे।
त्यसैगरी, गाउँपालिका उपाध्यक्ष शान्ति नाथले शाखा स्थापनाले स्थानीय नागरिकलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता कम हुने बताउँदै सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखिन्।
प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि.क.ले नागरिकलाई आफ्नै घरदैलो नजिकबाट सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताउँदै यससँगै कर्मचारीहरूको जिम्मेवारी र चुनौतीसमेत थपिएको उल्लेख गरे। उनले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरू प्रतिबद्ध भएर लाग्ने बताए।
बेल्डाँडी गाउँपालिकाले भूमि व्यवस्थापन शाखा प्रमुखको जिम्मेवारी अधिकृत सातौँ तहका हेमराज रेग्मी जोशीलाई दिएको छ। शाखा सञ्चालनमा आएसँगै स्थानीय नागरिकले भूमि व्यवस्थापनसम्बन्धी सेवा आफ्नै गाउँपालिकाबाट प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले सेवाग्राहीको समय, खर्च र झन्झट कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।












