हात्तीको आक्रमणबाट भएको क्षतिको सांसद महता सहितको टोलीद्वारा स्थलगत अनुगमन


कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथानले भीमदत्त नगरपालिका–१४ मा स्थानीयका घर तथा खाद्यान्नमा क्षति पुर्‍याएपछि घटनाको स्थलगत अनुगमन गरिएको छ। बुधबार राति जङ्गली हात्तीको बथानले हरिनादेवी कामी, आरती रैकाल कामी र जानकी देवी कामीलगायत स्थानीयका घर तथा खाद्यान्नमा क्षति पुर्‍याएको घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ। बिहीबार कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद ज्ञानेन्द्र सिंह महता, प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणि गिरी, नेपाली सेना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीसहितको टोलीले घटनास्थल पुगेर क्षतिको अनुगमन गरेको हो।

अनुगमनका क्रममा टोलीले प्रभावित परिवारसँग भेटघाट गरी हात्तीको आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन गरेको छ। साथै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक पहल र समन्वय गर्ने विषयमा छलफल गरिएको छ। पछिल्ला दिनमा निकुञ्जभित्रबाट बस्ती क्षेत्रमा जङ्गली हात्तीको आवतजावत बढ्दै गएको र त्यसबाट स्थानीयको जनधनमा क्षति पुग्ने जोखिम बढेको भन्दै हात्तीको गतिविधि नियन्त्रण तथा निगरानीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

यसैक्रममा बस्ती क्षेत्रमा बढी आवतजावत गर्ने हात्तीको पहिचान, गतिविधि र आवागमनको निगरानी गर्न रेडियो कलर जडान गर्ने विषयलाई समेत अघि बढाउनुपर्ने प्रस्ताव गरिएको छ। रेडियो कलरमार्फत हात्तीको स्थान र गतिविधिबारे समयमै जानकारी प्राप्त गर्न सके सम्भावित जोखिमबारे स्थानीयलाई पूर्वसूचना दिन तथा मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै स्थानीय नागरिकको सुरक्षा र वन्यजन्तुको संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र दीर्घकालीन योजना आवश्यक देखिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img